काग्रेस हतारमा ,प्रचण्ड सकंटमा ,ओली तनावमा

0
SHARES
10
VIEWS

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

यसअघि शनिबार मात्र पूर्व उपसभापति विमलेन्द्र निधिले भेटेका थिए भने अरु नेताहरुले पनि भेटिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पनि सत्ता सहयात्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा कांग्रेस नेताहरुसँग बढी खुल्ने गरेका छन् ।

प्रचण्डको एमाले अध्यक्ष ओलीसँग भेट त निरन्तर भइरहेको छ । तर राष्ट्रपतिबारे कुनै सहमति हुन सकेको छैन । ओलीले १० पुसको सहमति सम्झाउने गरेका छन् भने प्रचण्डले २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको तर्क गर्ने गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिका सन्दर्भमा दुई नेताले कुनै ठोस प्रस्ताव अघि सारेका छैनन् । ओलीको आशंका छ, पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार अघि सार्ने हो भने प्रचण्ड कांग्रेसतिर जान्छन् । त्यसैले अन्तिमसम्म इन्गेज गरिराख्न चाहन्छन् उनी । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले राष्ट्रपतिको उम्मेदवार (उम्मेदवारी दर्ता गर्ने दिन) १३ गते मात्र थाहा हुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भने यसले थप शशंकीत बनाएको छ । सभामुखमा जस्तै ओलीले अन्तिम समयमा आफ्नो विश्वास पात्रलाई अघि सार्ने र अर्को विकल्पबारे छलफल नै गर्ने अवसर समेत नपाउने उनको चिन्ता छ । नेताहरुका अनुसार अहिलेको अवस्था भनेको ओलीप्रति प्रचण्डको अविश्वास बढ्दो छ, तर सहकार्य पनि टुटिसकेको छैन ।

कांग्रेस नेताहरु भने यही बेला प्रचण्डसँग ‘डिल’ गर्न चाहन्छन् । ‘प्रधानमन्त्रीसँग नेताहरुको निरन्तर सम्वाद भइरहेको छ,’ एक पदाधिकारी भन्छन्, ‘माओवादीसँग सहकार्यको विषय टुंगिने क्रममा छ । हामी सकेसम्म छिट्टै टुंग्याउन चाहन्छौं ।’

नेताहरुका अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सहमत देखिएका छन् । तर उनका केही आशंका छ । राष्ट्रपति लिएपछि कांग्रेसले फेरि दुई ठूला दल मिल्नुपर्छ भनेर एमालेसँग सहकार्य त थाल्ने होइन भन्ने उनको आशंका छ ।

प्रचण्डलाई आशंका नहोस् भनेर कांग्रेस शीर्ष नेताहरुले एमाले नेतृत्वसँग भेटवार्ता गरेका छैनन् । प्रचण्डलाई भेटेका नेताहरुका अनुसार यो आशंकालाई धेरै हदसम्म निवारण गरिएको छ । यसका लागि संस्थागत रुपमा समझदारी गर्न तयार रहेको सन्देश कांग्रेस नेताहरुले दिएका छन् । नेताहरुका अनुसार ३ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी २ वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी जस्तै छ । यदि प्रचण्डले चाहने हो भने ५ वर्ष सरकारको नेतृत्व दिन समेत पार्टी तयार हुनुपर्ने मत कांग्रेसमा बलियो बनेको छ ।

प्रधानमन्त्री प्रचण्डकोे अर्को त्रास छिमेकी भारतको संस्थापन पक्षले असहयोग गर्ने त होइन भन्ने छ । नेताहरुका अनुसार, चुनावपछि आफूलाई प्रधानमन्त्री स्वीकार नगर्नुमा कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा मात्र होइनन् भन्ने प्रचण्डको बुझाइ थियो । त्यसैले भोलिका दिनमा पनि भारतले आफ्नो सरकारलाई असहयोग गर्ने उनको त्रास छ ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको भ्रमणले प्रचण्डको यो आशंकालाई धेरै हदसम्म निवारण गरेको बताउँछन् कांग्रेस र माओवादीका नेताहरु । नेपालका लागि राजदूत रहिसकेका क्वात्रा कांग्रेस–माओवादी गठबन्धनका पक्षपाती मानिन्छन् । भ्रमणका क्रममा उनले आफूहरु कांग्रेस–माओवादी गठबन्धनकै पक्षमा रहेको सन्देश दिएको स्रोतको दाबी छ । १ फागुनमा काठमाडौं आएका उनले दुई दिने बसाईमा गरेको राजनीतिक भेटघाटले पनि त्यही संकेत गर्छ । उनले कांग्रेसका बालकृष्ण खाँणदेखि मधेस केन्द्रित दलका सबै नेताहरुलाई प्राथमिकताका साथ भेटे । तर संसदमा भएको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपाका नेतृत्वलाई भेटेनन् ।

एमाले अध्यक्ष ओलीप्रति कायम अविश्वास, कांग्रेस नेताहरुसँग निरन्तर चलिरहेको वार्ता र भारतीय विदेश सचिवको भ्रमणपछि प्रचण्ड, कांग्रेसतिर ढल्किँदै गएको आभाव आफूहरुलाई पनि हुन थालेको माओवादी नेताहरु बताउँछन् ।

तर कांग्रेससँग दिर्घकालीन सहकार्य हुन नसक्ने भएकाले वामपन्थी आन्दोलनसँग जोडिएको व्यक्तिलाई राष्ट्रपति बनाएर एमाले र माओवादी गठबन्धन जोगाउनुपर्ने दबाव माओवादीमा छ । यदि एमाले अध्यक्ष ओली त्यसमा तयार भइहाल्ने हो भने हुनै लागेको सहमति भाँडिनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ । त्यसैले कांग्रेस नेताहरु प्रचण्डलाई सहमत गराएर राष्ट्रपतिको उम्मेदवार केही दिनमै टुंग्याउन चाहन्छन् ।

आइतबार भएको भेटमा सहभागी वरिष्ठ नेता पौडेलका अनुसार राष्ट्रपतिमा सघाउन गरेको आग्रह प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् । प्रधानमन्त्रीले पार्टीमा छलफल गर्ने बचन दिएको भन्दै उनले भने, एकदुई दिनमा टुंगो लाग्छ होला ।’onlinekhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार