गर्मी छल्न आन्तरिक पर्यटक कन्याम–फिक्कल

0
SHARES
7
VIEWS

बाक्लो हुस्सु लागेर चिसोले मुटु चसस्क पार्दा होस् या चर्किंदो गर्मीमा पसिनाले शरीर लपक्कै भिज्दा, तराईका बासिन्दाको आराम खोज्ने ठाउँ प्रायः पहाड नै हुन्छ। गर्मी बढेसँगै चिसो कन्याममा ओइरिएको हुलले पनि यही वास्तविकता झल्काइरहेको छ।

जाडो याममा तराईमा अधिक चिसो हुँदा इलामका डाँडाकाँडा तुलनात्मक रूपमा न्यानो लाग्छन्। गर्मीमा त इलामका हरियाली र चिसोपानी झनै प्रिय हुने भइहाले। चैत र वैशाखमा गर्मी बढेसँगै अहिले कन्याम, पाथीभरा, फिक्कल, इलाम बजारतिर पर्यटक धुइरिन थालेका हुन्। कोरोना कहरले मन्द बनिसकेको होटल व्यवसाय पनि पर्यटक आउ–जाउ बढेसँगै लयमा फर्किन थालेको छ।

यतिबेला विशेषगरी पर्यटकीय कन्याममा तराईका बासिन्दाको भिड बढेको छ। तराईको उखर्माउलो गर्मी छल्न आन्तरिक पर्यटक कन्याम–फिक्कल हान्निएका छन्। झापाका सयौं पर्यटक कन्याम घुम्न आइरहेका छन् भने मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सालगायत तराई जिल्लाका मानिस हुल बाँधेर कन्याम आएका भेटिन्छन्। झापाका पर्यटक बिहान आएर साँझ फर्किने नै बढी हुन्छन्। अरू जिल्लाका चाहिँ कम्तीमा १ रात बस्नेगरेका छन्।

हरियो गलैंचाझै देखिने कन्याम चियाबारीमा पर्यटकको संख्या दिनहुँ बाक्लिँदै छ। कन्याम चियाबारी घुम्ने र भोलिपल्ट झुल्केघाम हेर्ने पर्यटकको घुइँचो छ। नीलो आकाश र थोरै देखिने सेतो हिमाल पृष्ठभूमिमा राखेर आफूसँगै हरियो चियाबारी तस्बिरमा अटाउन पर्यटक लालयित हुन्छन्। भारत बंगालका पर्यटक पनि कन्याम घुम्न आउने गरेको व्यवसायी राज गिरीले जानकारी दिए। कन्यामको हरियो चियाबारीको पृष्ठभूमिबाटै कञ्चनजंघा नियाल्न सकिन्छ। ‘कन्याम सुनेको मात्र थिएँ, आउँदा चाहिँ स्वर्ग पुगेझैं लाग्दोरहेछ,’ सिरहाबाट आएका सन्तोष देवले सुनाए, ‘हिमाल–पहाड र तराई एकैठाउँबाट हेर्न सकिने, चियाबारीको हरियाली उस्तै विछट्टको रहेछ।’ उसो त, झापाकी मेलिना गौतमले पनि आफू तराईमा बढी जाडो भएका बेला न्यानो खोज्न र गर्मीमा चिसो खान कन्याम आउनेगरेको सुनाउन भुलिनन्।

पर्यटकलाई झापा छाडेर इलाम लाग्नेबित्तिकै रमाइलो अनुभव हुन्छ। कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख छरपस्ट छ। इस्कुस बेचेर वर्षको ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसानको खेती नजिकै देख्न सकिन्छ। अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा खेतीबाट लाखौं रुपैयाँ आम्दानी गरिरहेका किसानले आफ्ना उत्पादन बिहान उज्यालो नहुँदै सडकसम्म ल्याइसकेका हुन्छन्।

कुटीडाँडाका सिँढी उक्लिएर ‘बहिनी पाथीभरा’को दर्शन गरेपछि हर्कटे, कन्याम चियाबारीलगायत पर्यटकीयस्थलको काखमै आइपुगिन्छ। भर्खरै वैशाख सुरु हुँदैछ तर कोल्बुङ, कन्याम, फिक्कल, पञ्चकन्यातिरका किसानको बारीमा काँक्राको झ्याल भरिएको छ। कतिपय किसानले काँक्रा, सिमी, मुला बेच्न थालिसकेका छन्। हर्कटे बजारमा बेच्न राखेको जंगली चिन्डे देख्दा अचारपारखीको जिब्रो रसाउन थालिसकेको छ।

केही समयअघिसम्म कन्याम चियाबारीमा ‘कन्याम इन’बाहेक व्यवस्थित र सुविधासम्पन्न होटल थिएनन्। अहिले मेची राजमार्ग आसपासमा दर्जनौं सुविधासम्पन्न होटल खुलिसकेका छन्। कन्याममा चियासँग लुकामारी खेल्न, लभडाँडाबाट हिमाल, पहाड र तराई नियाल्न अनि घोडा चढ्न चाहिँ पर्यटक लोभिइरहेका छन्। कन्यामबाट करिब १० किलोमिटरमा फिक्कल र १३ किलोमिटरमा पर्यटकीय अन्तुडाँडा पुगिन्छ।

फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन्। इलाममा बसोबास गर्ने देशकै लोपोन्मुख जाति लेप्चाको पनि यही क्षेत्रमा बसोबास छ।

जिल्लाका अन्तु, सन्दकपुर, माइपोखरी, इलाम बजारलगायत पर्यटकीय क्षेत्रमा पनि पर्यटकको संख्या थपिएको व्यवसायीले बताएका छन्। इलामका होटल व्यवसायी विजय राई कोरोनापछि पर्यटकको संख्या बढेको बताउँछन्। ‘कोरोना महामारीका कारण सुनसान होटल व्यवसाय पर्यटकीय चहलपहल बढेपछि लयमा फर्किँदैछ,’ उनले भने, ‘सदरमुकाममा आयोजना गरिने मेला–महोत्सवले पनि यहाँको व्यवसायमा टेवा पुगेको छ।’nagarik news bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार