झापा इनर्जि को १० मेघावाट बिजुलि असोज १ बाट सन्चालन शुरु हुदै

0
SHARES
44
VIEWS

झापामा १० मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

झापाको शिवसताक्षी नगरपालिका– ४ मा झापा इनर्जीले निर्माण गरिरहेको सौर्य ऊर्जा उत्पादन परियोजनाको काम ७० प्रतिशत पूरा भएको प्रवन्ध सञ्चालक सुवास भट्टराईले बताए ।

साउनमहिनासम्ममा सम्पूर्ण कामहरु सम्पन्न गरेर भदौमा परिक्षण गरी असोज १ गतेदेखि १० मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको उनले बताए ।

साढे तीन बर्षअघि झापा इनर्जी लिमिटेड स्थापना गरेर ७९ करोडको लगानीमा २२ बिगाह जग्गामा सञ्चालन गरिएको सौर्य ऊर्जा उत्पादन परियोजनाको असार मसान्तसम्ममा सपन्न गर्नेगरी कार्य अघि बढिरहेको भएपनि बर्षात् र आर्थिक मन्दीका कारण समय बढ्न सक्ने उनले बताए ।

६० करोड सिभिल बैंक र माछापुछे्र बैंकमार्फत् कर्जा लिइएको उक्त परियोजनामा १९ करोड शेयरदाताहरूबाट लगानी गरिएको बताउँदै उनले सबैको साथ र सहयोगले नेपालकै ठूलो र नमूना परियोजनाका रूपमा रहेको सौर्य ऊर्जा उत्पादन परियोजना सफल हुने बताए ।

नेपालकै ठुलो र नमूना परियोजनाका रुपमा रहेको सोलार उर्जा उत्पादन परियोजनाबाट झापा इनर्जीले असोज १ गतेबाट सौर्य उर्जा उत्पादन गर्ने उनले बताए ।

साढे तीन वर्ष अघिदेखि निर्माण सुरु गरिएको सौर्य ऊर्जा उत्पादन परियोजनामा अहिले पिलर र राफ्टर लगाउने कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको इन्जिनियर केशव चापागाईले जानकारी दिए ।

उनले ८ सय १९ वटा टेबलमा ५ सय ५० वाटको एउटा प्यानल गरेर २१ हजार ८ सय ४० वटा प्यानल स्ट्याण्ड राख्ने काम सकिएको बताउँदै सो स्ट्याण्डमा १ टेवल बराबर २८ प्यानलको टेवल र आधा टेवलका लागि १४ वटा सोलार प्यानल जडान गरिने र प्यानल उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरूसमेत तयारी गरेर त्यहाँ रहेको दुई वटा इन्र्भंटर हुँदै गएर नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भइसकेको र सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने प्रवन्ध सञ्चालक भट्टराईले बताए।

आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्ने र यसका आधारमा आयोजनाले वार्षिक रु १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

झापा इनर्जी लिमिटेडका सञ्चालक नारायण पोखरेलले परियोजना अन्तिम चरणमा पुगेकाले अब उत्पादनको समय नजिक आएको जानकारी दिए ।

उनले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै परियोजनाको अहिलेसम्म भएका काम भन्दा बाँकी रहेका काम अलि छिटो हुने खालका भएकाले चाँडै नै सञ्चालनमा आउने जनाए ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा झापा इनर्जी लिमिटेडकी सञ्चालक पवित्रा महतरा प्रसाईले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गरिने बताउँदै सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको र सो क्षेत्रमा दुई वटा सेल्फी टावर समेत निर्माण गरिने जानकारी दिइन् । झापा इनर्जीको उक्त परियोजनामा अहिले दैनिक ४० जनाभन्दा बढिले रोजगारी पाइरहेका छन् भने उत्पादन पश्चात १० देखि १५ जनाले रोजगारी पाउने बताइएको छ ।

झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा साडे तीन वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गत वर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

झापाको शिवसताक्षी नगरपालिका– ४ मा झापा इनर्जीले निर्माण गरिरहेको सौर्य ऊर्जा उत्पादन परियोजनाको निर्माण भएसंगै त्यस क्षेत्रको जग्गाको मूल्य समेत बढेको स्थानीयवासीले बताएका छन् । बिर्ताज्योति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार