पोल खोलाखोल गर्दै पुर्व सचिव पाण्डे र बालकृस्ण खांड

0
SHARES
64
VIEWS

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन् ।

सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए ।

उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरेको स्रोतको दाबी छ । ‘उहाँले हाम्रा प्रश्नको उत्तर दिँदा सचिवतिर देखाउनुभएको छ । खासगरी उहाँले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो । अनुसन्धान अन्तिम अवस्थामा आइपुग्दा सो प्रकरणको मुद्दा बुझाउने चटारोमा रहेको प्रहरीले सोमबार र मंगलबार पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलसँगको रोहवरमा बयान लिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार गरेको र अनधिकृत रूपमा आर्थिक लाभ लिएको आरोप लागेको छ । तर यी दुवैमा उनले अस्वीकार गरेको स्रोतले जनाएको छ ।

खाण सरकारमा रहेका बेलाको मन्त्रिपरिषद्ले २०७८ पुस ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ‘यो विषयमा खाणले मन्त्रीस्तरीय निर्णयअनुसार सचिवले नै तयार पारेका आधारमा कर्मचारीले सबै काम गरेको बताएका छन्,’ स्रोतले भन्यो ।

प्रहरी स्रोतका अनुसार तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको मूल प्रतिवेदन उनीहरूलाई दिएका थिए । गिरोहका सदस्यहरूले आफूअनुकूल तोडमरोड गरी नक्कली शरणार्थीको नाम थपेको प्रतिवेदन मन्त्रालयमा राख्न लगाएका थिए । पन्थीले बुझाएको प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराएर वैज्ञानिक अभिलेखन गर्न सुझाइए पनि उनीहरूले कार्ड नै बाँडिसकेका थिए । त्यसमा पनि खाणको संलग्नता रहेको आरोप थियो । सो विषयमा पनि प्रहरीले प्रश्न गर्दा उनले आफूलाई जानकारी नभएको दाबी गरेका थिए ।

खाणसँगै मन्त्रालयमा काम गरेका सचिव पाण्डेले मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताएका थिए । प्रहरीले सचिव पाण्डेको मोबाइलमा मेटिएका समाग्री ‘रिकभर’ गरेर ल्याएपछि मात्रै पाण्डेले खाणकै निर्देशनमा आफूले सबै काम गरेको स्वीकार गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको विविध प्रमाण जुटाएपछि मात्रै प्रहरीले अदालतको पक्राउ पुर्जीबिना नै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा (६) तथा अदालत व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी आफैंले जारी गर्न पाउने ‘जरुरी पक्राउ पुर्जी’का आधारमा मैजुबहालस्थित निवासबाटै खाणलाई पक्राउ गरेको थियो ।

सचिव पाण्डेले आफू पक्राउ हुनुअघि मोबाइल फम्र्याट गरे पनि प्रहरीले त्यसमा रहेका ‘डाटा रिकभर’ गरेको थियो । डाटा रिकभरका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनको मोबाइल पठाइएको थियो ।

रिकभर भएर आएको मोबाइलमा प्रहरीले खाण र पाण्डेबीच आर्थिक लेनदेनको हिसाब पनि फेला पारेपछि सचिव पाण्डेले बयानमा खाणकै निर्देशनमा सबै काम भएको र यसको जिम्मेवारी आफूले मात्रै नलिने बताएपछि प्रहरीले खाणलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । ‘दुवै जनाबीच आर्थिक हिसाबकिताब भएको प्रमाण फेला पारेपछि उहाँ (पाण्डे) ले पूर्वगृहमन्त्रीकै निर्देशनमा आफूले सबै काम गरेको हो भनेर बयान दिनुभएको छ, उहाँले कर्मचारी यसमा एक्लै संलग्न हुन नसक्ने बताउनुभयो,’ अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने ।

पाण्डेको बयानपछि प्रहरीले त्यसलाई पुष्टि गर्न तत्कालीन शान्तिसुरक्षा महाशाखामा रहेका सहसचिव फणीन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग पनि बयान लिएको थियो । साथै स्थानीय प्रशासन शाखाका अधिकृत यान्तोस प्रधानलाई पनि बयान लिएको थियो । प्रधानमातहत रहेको सो प्रतिवेदन कसरी बाहिर गयो भन्नेबारे प्रहरीले बयान लिएको थियो । प्रधानले सचिवले प्रतिवेदन मागेको र त्यसअनुसार सचिवको सचिवालयमा पठाएको बताएका थिए । तर सचिव पाण्डेले यो प्रश्नमा पनि मन्त्रीकै आदेशमा गरेको बताएर आफू चोखिन खोजेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताए ।

प्रहरी अनुसन्धानका क्रममा पाण्डेको मोबाइलमा खाणले गिरोहबाट लिएको रकम र त्यसबाट खाणसँग भएको लेनदेनलगायत अन्य विवरण पनि फेला परेका थिए। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ ।

सरकारी वकिलको कार्यालयले चाँडै अनुसन्धान सिध्याउन निर्देशन दिए पनि अन्तिम समयमा हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परेपछि केही दिन अनुसन्धानसमेत लम्बिएको छ । पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति पनि दिएको छ ।

बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । तर अनुसन्धान नसकिएपछि प्रहरीले थप समय मागेको थियो । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई संगठित अपराधमा समय लिएर अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म प्रहरीले १४ जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीनजनालाई पक्राउ गरेको थियो । संगठित अपराधका मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ । सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पु¥याउनुपर्छ ।

पक्राउ पर्नेमा सुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए । त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो । राई पक्राउ परेको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।

एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । त्यसपछि वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे । छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे।

वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे । वैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे । खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि सोही दिन पक्राउ परे । ११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे । सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे ।

अहिले यस प्रकरणमा १४ जना हिरासतमा छन् । इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन् । साथै हज कमिटीका अध्यक्ष शमशेर मिया पनि फरार सूचीमा छन् । प्रहरीले सकेसम्म उनीहरूलाई पनि पक्राउ गरेर आइतबार मुद्दा लैजाने तयारी गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार