बिरिङ खोला मा पुल ढलान भएसगैं स्थानियबासि उत्साहित

0
SHARES
29
VIEWS

बाह्रदशी र झापा गाउँपालिका जोड्ने हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल सञ्चालनमा आएको छ ।
पुल निर्माण भएसँगै तत्कालको लागि पैदलयात्रु र मोटरसाइकललाई आवतजावत गर्न मात्र दिइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ ।

निर्देशनालयका अनुसार पुल भर्खरै ढलान भएकोले सुक्नका लागि २५ देखि २८ दिन समय लाग्नेछ । त्यसपछि यातायात सञ्चालनको लागि अनुमति दिइनेछ ।

बिरिङ पुल बनेपछि स्थानीयबासीमा खुसियाली छाएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले अब झापा गाउँपालिकाबासीलाई सदरमुकाम जान सहज र समय दुवैको बचत हुने बताए ।

पन्थापाडाका महेश थापामगरका अनुसार पुल नबन्दा वारिपारि गर्न धेरै कठिनाइ थियो । नजिकै रहेको राजगढ बजार जान पनि धेरै समस्या हुन्थ्यो ।

यसअघि सदरमुकाम चन्द्रगढी जान लगभग ४७–४८ किलोमिटर दूरी टाढा घुमेर जानुपथ्र्यो भने अब चन्द्रगढीको दूरी २४ किलोमिटरमा छोटिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ३६ करोड रुपैयाँको लागतमा बिरिङ पुलको निर्माण कार्य सम्पन्न भएको हो । पुलमाथि १९ वटा स्लाव लगाइएको छ भने पुलको लम्बाई ३१८ मिटर र चौडाई ९.८ मिटर रहेको इन्जिनियर प्रमोद खतिवडाले बताए ।

१२ वर्षपछि निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो । २०६८ साल असार १३ गते ठेक्का लागेको पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ढिलो सम्पन्न भएको हो ।

पुल निर्माणको लागि सुरुको ठेक्का लामा मैनाचुली जेभीले लिएको थियो । २०६८ साल असार १३ गते गरेको सम्झौताअनुसार पुलको निर्माण कार्य चार वर्षभित्र सम्पन्न गर्नुपर्ने थियो ।

तर, ठेकेदार कम्पनीले पुल निर्माण कार्यमा ढिलाइ गरेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पटकपटक म्याद थप गरिदिएको थियो ।

पछिल्लो म्याद थप अनुसार पुल ०७७ साल असार १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । म्याद थप गर्दा पनि समयमा पुल निर्माण गर्न नसक्दा लामा मैनाचुली कम्पनीको सम्झौता रद्द गरिएको थियो ।

त्यसपछि पुल निर्माणको ठेक्का पप्पु जेभीको पार्टनर महादेव खिम्तीलाई दिइएको थियो । महादेव खिम्तीले पुलको निर्माण कार्य दुई वर्षभित्रमा सम्पन्न गरेको इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।

हुलाकी राजमार्गअन्तर्गत झापा खण्डमा ४८ किलोमिटर दूरीमा कालोपत्रे गर्ने कार्य लगभग सम्पन्न भएको छ भने सानाठुला नदीमध्ये रतुवा र कनकाई नदीबाहेक अन्यमा पुल निर्माण सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले बताए छन्।।झापाटुडेमा हिमाल खरेलले समाचार लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार