अनिश्चितताबीच मुख्यमन्त्रीको कुर्सीमा उद्धव थापा

0
SHARES
35
VIEWS

पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा कहिल्यै नहारेका कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाका लागि संसदीय राजनीतिको मैदान भने कहिल्यै फलदायी भएन।

२०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेपछिको समय भने उनका लागि उपलब्धिपूर्ण सावित हुँदै गएको छ। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका छन्।

कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन्। यसअघिका चारै जना मुख्यमन्त्री वाम ध्रुवका थिए। उनी अघिका चार जना मुख्यमन्त्रीहरू शेरधन राई, भीम आचार्य र हिक्मत कार्की एमालेका र राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी)का हुन्।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने चुनौती छ। जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन उनका लागि जरूरी हुनेछ। यो काम उनका लागि सबैभन्दा सकसपूर्ण हुने सम्भावना छ।

गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ। यो ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या हो। यद्यपि यो संख्यामा सभामुख बाबुराम गौतमको पनि गणना माओवादी केन्द्रले गरेको छ।

भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरूले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन्। सभामुख गौतमले भने मुख्यमन्त्रीमा दाबी पेश गरिएको पत्रमै हस्ताक्षर गरेका छन्। उनले सभामुख नभई सांसदको हैसियतमा पत्रमा छुट्टै हस्ताक्षर गरेका छन्।

विवादबीच मुख्यमन्त्री नियुक्त भएका थापा अनिश्चितताको घेरामा छन्।


थापा नेतृत्वको सरकारको दिर्घायुका लागि राप्रपाले उनलाई विश्वासको मत दिनैपर्ने हुन्छ। यद्यपि यो सर्त सजिलै पूरा हुने सम्भावना भने ज्यादै कमजोर देखिन्छ।

यसका पछाडि कृष्णप्रसाद सिटौला वरिपरि रहेको झापाको कांग्रेस राजनीति र पछिल्लो समय राप्रपा नेतृत्वमा पुगेका झापाकै राजेन्द्र लिङ्देनबीचको सदावहार राजनीतिक टकराव मुख्य कारण बनेको छ।

केन्दीय राजनीतिमा सधैंका प्रतिष्पर्धी रहेका सिटौला र लिङ्देनको टकराव एकातिर हुँदा दोस्रो तहका नेताहरूबीचको सम्बन्ध पनि हार्दिक छैन। उद्धव थापा र भक्तिप्रसाद सिटौला कुनैबेला कांग्रेसको एउटै समितिमा काम गरेका समकालीन र एकै जिल्लाबासी पनि हुन्।

थापा र सिटौलाबीचको तिक्ततापूर्ण विगतले पनि राप्रपाले उनलाई सहजै समर्थन गर्ने सम्भावना कम छ। कुनैबेला कांग्रेसकै नेता रहेका भक्तिप्रसाद सिटौला अहिले राप्रपा कोशी संसदीय दलका नेता छन्। भक्ति सिटौला तिनै नेता हुन्, जसलाई १० वर्ष अघि कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहले कांग्रेसबाट किनारामा पारेको थियो।

उनलाई कांग्रेसबाट लखेट्न भूमिका केन्द्रमा कृष्णप्रसाद सिटौलाले गर्दा त्यसलाई जिल्लामा कार्यान्वयन गराउने समूहमा थापा पनि मुख्य पात्र रहेको कांग्रेस नेताहरू नै बताउँछन्। त्यही विगत र अहिले पनि हार्दिक नरहेको सम्बन्धकै कारण गठबन्धनका प्रदेश नेताहरूले थापाको विकल्प खोज्नुपर्ने बताएका थिए।

यद्यपि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसपटक आफ्ना विश्वासपात्र थापालाई कोशी प्रदेशको कार्यकारी प्रमुख बनाउने अवसर गुमाउन चाहेनन्। कांग्रेस नेताहरूका अनुसार सिटौलाको जोडबलमा सभापति शेरबहादुर देउवाले समर्थन जनाउँदा थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका हु्न्।

यसले राप्रपाको सहयोग पाउने सम्भावना क्षीण भएको नेताहरू बताउँछन्।

‘थापाबाहेकका अरूलाई गठबन्धनले मुख्यमन्त्रीमा अघि सारेको भए हामीले सोच्ने ठाउँ हुन्थ्यो भनेर राप्रपा नेताहरूले भन्दै आएका थिए,’ गठबन्धनका एक नेताले भने ‘तर सिटौलाजीको जोडबलका अघि कसैको केही लागेन। राप्रपाले सहयोग गर्दिन भनेकै व्यक्तिलाई अघि सारियो, ३० दिनपछि जे पनि हुने खतरा बढ्यो।’

सत्ता गठबन्धनले मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय गरेपछि कांग्रेसले राप्रपासमेतको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दाबी गर्न जाने पहल गरेको थियो। तर, राप्रपाले नमानेपछि चार दल मात्रै प्रदेश प्रमुखकोमा पुगेका हुन्।

‘विभिन्न घटनाक्रमहरूका कारण हामी सरकारमा सहभागी नहुने अवस्था बन्यो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हामीले अर्को पार्टीबाट कसलाई अघि बढाउने भन्ने कुरा आउँदैन। व्यक्तिगत कुरा पनि केही साथीहरूको छ। तर, त्यो पार्टीको आधिकारिक कुरा होइन।’

यही अवस्थाका बीच पनि मुख्यमन्त्री थापा र उनको दल कांग्रेसले विश्वासको मत लिने बेलासम्ममा राप्रपाले पनि सघाउनेमा विश्वस्त देखिन्छन्। अबको ३० दिनभित्र राप्रपाको समर्थन लिन मुख्यमन्त्री थापाले विगतको चुनावी असफलता बिर्साउने गरी प्रयत्न गर्नुपर्नेछ।

राजधानीको शंकरदेव क्याम्पसमा कुनैबेला स्ववियु सभापति लडेका तर अखिलसँगको लफडाले चुनावै बिथोलिएपछि सभापति बन्न नपाएका उनी लामो समय पार्टीभित्रको विभिन्न जिम्मेवारीमा रहे।

क्षेत्रीय सभापति, जिल्ला सचिव, उपसभापति हुँदै दुई कार्यकाल झापा कांग्रेसको सभापति बने।

‘पार्टी र संगठनप्रति प्रतिबद्ध नेता हो उद्धवजी,’ थापासँग लामो सहकार्य गरेका झापाका कांग्रेस नेता सुधीरकुमार शिवाकोटीले भने, ‘म सभापति हुँदा उहाँ सचिव र यपसभापति हुनुभयो। कुनै दिन बेमेल भएन। पार्टी भनेपछि मरिमेट्ने स्वभाव उहाँको छ। मुख्यमन्त्रीमा पनि त्यही समर्पणभाव सहित काम गर्नुहुनेमा विश्वस्त छु।’

त्यसो त पार्टी जिम्मेवारी र राजकीय जिम्मेवारी फरक विषय हुन्। पार्टीमा लामो अनुभव संगालेका थापा जनप्रतिनिधि बनेको यसैपालि हो। पहिलो पटकमै प्रदेशको मुख्यमन्त्री बन्ने सफलता उनले आत्मसात् गर्न पाएका छन्।

पहिलो पटक जनप्रतिनिधि बनेका उनी पार्टी राजनीतिमा भने अनुभवले खारिएका नेता हुन्। कांग्रेसको १२ औं महाधिवेशनका बेला उनी पहिलो पटक जिल्ला सभापति निर्वाचित भएका थिए।

त्यसबेला उनको प्रतिष्पर्धा युवा नेता विश्वप्रकाश शर्मासँग भएको थियो। कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलादेखि केशवकुमार बुढाथोकीसम्मले सहयोग गरेपछि थापाले शर्मालाई पराजित गरे। १३ औं महाधिवेशनमा भने उनी उनै शर्माको प्रस्तावमा दोस्रो कार्यकालका लागि सर्वसम्मत जिल्ला सभापति छानिए।

पार्टीको आन्तरिक मोर्चामा सधैं सफलता मात्रै हात पारेका उनले दुई वटै संसदीय चुनावको प्रयासमा भने पराजय व्यहोरे।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा एमालेका प्रेम गिरीसँग पराजित उनी २०७४ मा झापा २ मा एमालेकै पवित्रा निरौला खरेलसँग पराजित बनेका थिए।

दोस्रो पटक संसदीय निर्वाचन हारे पनि उनका लागि पार्टीमा फड्को मार्न भने त्यो असफलताले छेकेन। यसका पछाडि नेता कृष्णप्रसाद सिटौलाको चतुर्‍याइँपूर्ण कदमको मुख्य हात छ। सिटौलाले सभापति शेरबहादुर देउवाको टिममा आफूलाई उभ्याए।

जसै सिटौला देउवा टिममा पुगे, झापामा लामो समय कोइराला समूहका नेता भनेर चिनिएका थापासहितको टिम पनि देउवा समूहमै पुग्यो। १४ औं महाधिवेशनमा देउवा-सिटौला समूहले उनलाई प्रदेश सभापतिको उम्मेदवार बनायो।

उनको प्रतिस्पर्धा कोइराला समूहका नेता गुरुराज घिमिरेसँग भयो। उक्त निर्वाचनमा थापाले दुई मतको झिनो अन्तरले घिमिरेलाई पराजित गरे। त्यसो त त्यसबेला शेखर कोइराला, सुजाता कोइराला लगायतका नेताहरूले मतदान नगरेकै कारण घिमिरे पराजित भएका थिए। आफैंले अघि सारेका उम्मेदवारलाई मतदान नगर्ने नेताहरूको कमजोरीको फाइदा भने थापालाई भयो। पहिलो पटक प्रदेशको नेतृत्व छानिँदा तत्कालीन प्रदेश १ को पहिलो सभापति बन्न थापा सफल भए।

सिटौला समूह संस्थापन पक्षमा समाहित भएकै कारण थापाले प्रदेश संसदीय दलको चुनाव पनि सजिलै जितेका थिए। त्यसो त समानुपातिक प्रणालीबाट आएका व्यक्तिले दलको नेता हुन नपाउने तर्क त्यसबेला कांग्रेसभित्र नउठेको होइन। तर, देउवा-सिटौला समूहले उनै थापालाई आफ्नो पक्षबाट उम्मेदवार बनायो।

लामो समयदेखि देउवाका सहयोगी रहेका अमृत अर्याल र कोइराला समूहका केदार कार्की थापाका प्रतिष्पर्धी बने। देउवा-सिटौला समूहका थापाले २९ सदस्यीय संसदीय दलमा १८ मत पाउँदा कार्कीले ९ र अर्यालले २ मत मात्रै पाएका थिए।

यसरी विश्वप्रकाश शर्मादेखि गुरुराज घिमिरे, अमृत अर्याल, केदार कार्कीसम्मलाई आन्तरिक प्रतिष्पर्धामा पराजित गरेका थापालाई २०७९ को चुनावको मुखैमा सेतोपाटीले सोधेको थियो ‘तपाईं प्रतिनिधि सभाको उम्मेदवार बन्ने कि प्रदेशको?’

‘यसपटक म कहीँ पनि नउठ्ने,’ थापाले भनेका थिए, ‘यसपटक पार्टीका साथीहरू जिताउन खटिने।’

उनले चुनाव लड्न नचाहेको मुख्य कारण समानुपातिकको आशा रहेछ। संस्थापन पक्षमै पुगेका उनलाई सभापति देउवाले प्रदेशको खस आर्य समूहको पहिलो नम्बरमा राखिदिए। उनी सजिलै प्रदेशमा चुनिए। र, अहिले मुख्यमन्त्री बन्न सफल भए।

फुटबलको उर्वरभूमि मानिने झापाको शनिश्चरेमा २० को दशकको मध्यदेखि ५० को दशकसम्म एउटा चर्चित फुटबल क्लब थियो डाइनामाइट क्लब। तीसको दशकमा त्यो क्लबको एक मुख्य खेलाडी थिए, उद्धव थापा।

कुनैबेलाका कुशल फुटबलर थापालाई अब प्रदेशको राजकीय जिम्मेवारीको अवसर मिलेको छ।

‘सबै दलहरूलाई मिलाएर अघि बढ्ने र प्रदेशको समृद्धिमा सबैलाई एकाकार तुल्याउने’ प्रारम्भिक प्रतिक्रिया दिएका थापालाई पहिलो चुनौती नै सत्ताको दिर्घायुको हुनेछ।

आफू नेतृत्वको सरकारको यात्रा कति लामो हुन्छ? मुख्यमन्त्री बन्दै गर्दा थापालाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न यही भइरहेको छ। लामो समय फुटबलको मैदानमा सिकेको सीपले पार्टीभित्र डटिरहने प्रेरणा पाएको बताउने उनले यसपटक भने सत्ताको खेललाई पनि जितमा परिणत गर्नुपर्नेछ। जहाँ उनले विगतमा आफैंले किनारामा पारेका भक्ति सिटौला नेतृत्वमा रहेको राप्रपा संसदीय दलको विश्वास जित्नु पर्नेछ।setopatibata राजु अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार