भारुको बिगबिगी : कहाँ गयो नेपाली रुपैयाँ ?

0
SHARES
16
VIEWS

-खेम भण्डारी

महेन्द्रनगर । सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म अहिले भारतीय रुपैयाँ (भारु) छ्याप्छ्याप्ती छ, नेपाली रुपैयाँ (नेरु) पाउनै मुस्किल भइरहेको छ ।

भारुको यस्तो बिगबिगी छ कि एक सय भारु बराबर एक ६० नेरुको पुरानो दरमैं गिरावट आएको छ । चितवनतिर एक सय भारु एक सय ५५ नेरुमा साँटिदैछ भने अन्त एक सय ५५ त आमदर नै बनेको छ ।

३० वर्षअगाडि २०५० सालमा पछिल्लो पटक तय भएको नेरु र भारुको विनिमय दर कहिल्यै यसरी हल्लिएको थिएन, त्यो पनि अघोषित रुपमा ।

कतिसम्म भने, सीमावर्ति भारतीय बजारका व्यापारीहरु नेपाली ग्राहकसँग नेरु नै माग्छन् । नेपाली बजारका व्यापारीबाट असुली गर्न आएका सीमावर्ति बजारका भारतीय साहुहरु भारु नभई नेपाली नै खोज्छन्, उनीहरु सकेसम्म भारु बोकेर भारत फर्कन चाहन्नन् ।

जताततै भारु पाँच सय र एक हजारका नोटको विगविगी छ । नेपाली बैंकले ती नोट नलिँदा त आममानस झन् तनावमा छ ।

किन भयो यस्तो ?

किन बजारमा भारुको विगविगी र नेरुको अभाव भयो भन्ने अहिलेसम्म रहस्यकै विषय बनेको छ । सरकारले समेत यो अवस्थाको ठोस अध्ययन गरेको छैन ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले विशेषगरि सीमावर्ति नेपाली जिल्लाहरुमा बढिरहेको भारुको बिगबिगीको अहिलेसम्म व्यवस्थित अध्ययन गरी निष्कर्ष ननिकालिएको बताउँछन् ।

उनले भारतमा भन्दा नेपालको बैंक ब्याजदर उच्च भएको हुनाले भारु नेपाल आएको हुनसक्ने बताए । ‘नेपाली बैंकहरुमा भारतको भन्दा ६–७ प्रतिशत ब्याज धेरै छ’ सहप्रवक्ता पोखरेलले भने, ‘आफन्त, नातागोतामार्फत् नेपाली बैंकमा पैसा राखेर ब्याजबाट मुनाफा कमाउने लोभमा भारु नेपाल भित्रिएको हुनसक्छ ।’

पोखरेलको अनुमानसँग सहमत भएपनि त्यो मात्रै कारण हो भन्नेमा विश्वस्त छैनन् अर्थशास्त्री केशव आचार्य । उनले पूर्वदेखि पश्चिमसम्म एकै पटक भारुको बिगबिगी देखिनु असामान्य आर्थिक घटना भएको बताए ।

‘मैले गहिरो अध्ययन त गरेको छैन’ अर्थशास्त्री आचार्यले भने, ‘तर, भित्रभित्रै केही खिचडी पाकिरहेको हो कि भन्ने देखिन्छ ।’ नेपाल–भारत मौद्रिक सम्बन्धको इतिहासमा यस्तो घटना पहिले भएको आफूलाई सम्झना नभएको आचार्यले बताए ।

सम्भावित कारण के हुन सक्छन् ?

नेपाली बजारमा भारुको बिगबिगी सम्बन्धमा मानसखण्डले कुरा गरेका एक दर्जन अर्थशास्त्री, अर्थ बिटका पत्रकार तथा व्यापारीको धारण र ठम्याईबाट भारुको बिगबिगीका अनेक सम्भावित कारण सतहमा आएका छन् । तर, मुख्य कारण के हो भन्ने खुट्याउन भने नसकिने अवस्था छ ।

अर्थशास्त्री आचार्यले ‘भित्रभित्रै खिचडी पाकिरहेको’ संशय व्यक्त गरेपनि उनी अनौपचारिक अर्थतन्त्र (तस्करी आदि) बलियो बन्दै गइरहेको संकेतका रुपमा पनि यो विगबिगीलाई लिन सकिने बताउँछन् ।

‘सुन, लागुपदार्थ आदिको अवैध कारोबारका कारण पनि भारुको बिगविगी बढिरहेको हुनसक्छ’ आचार्य भन्छन्, ‘सीमा क्षेत्रमा रहेका नेपाली क्यासिनोमार्फत् अवैध भारुलाई वैध गराउन पनि भारु हाम्रो अर्थतन्त्रमा पम्प गरिएको हुनसक्छ ।’

भारतमा भारुप्रति बढेकोे अविश्वासका कारण पनि नेरु भारततर्फ तानिएर भारु नेपाली बजारमा आएको हुनसक्ने धेरैको अनुमान छ । राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल भारतमा कुनै पनि बेला नोटबन्दी हुनसक्ने त्रास रहेकोले भारतीयहरुले सुरक्षाको दृष्टिले नेरु जम्मा गरेका हुनसक्ने उनको अनुमान छ ।

कान्तिपुर दैनिकमा कार्यरत आर्थिक मामिला पत्रकार कृष्ण आचार्य भारु बिगबिगीको यो प्रक्रिया बुझ्न जटिल भएको बताउँछन् । ‘माग र आपूर्तिको सिद्धान्त यहाँ पनि लागू भएको छ’ उनी भन्छन्, ‘भारतमा नेरुको माग बढेको हुनाले नेपालमा भारुको बिगबिगी बढेको हो ।’

तर, भारतमा किन नेरुको माग बढ्यो भन्ने प्रश्नको उत्तर भने कसैले पनि सहजै दिन सक्दैनन् । राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल र अर्थशास्त्री आचार्य दुबैजनाको एउटै मत छ – तत्काल अनुसन्धान गर्नुपर्छ ।

के असर पर्छ नेपालको अर्थतन्त्रलाई ?

किन भारुको बिगबिगी बढेको हो भन्ने प्रष्ट नभएको हुँदा यसबाट नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने पनि प्रष्ट हुन सकेको छैन ।

अनौपचारिक बजारमा भारुको तुलनामा नेरु बलियो बनेपछि यसबाट फाइदा भएको ठान्छन् राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल भने घाटा हुने भन्छन् अर्थशास्त्री पोखरेल ।

पोखरेलका अनुसार नेपालको उच्च ब्याज दरका कारण भित्रिएको भारुले अर्थतन्त्रलाई फाइदा हुने देखिन्छ । ‘नेरु किनेर बैंकमा राख्दा एक सय ५५ मा किने’ पोखरेल भन्छन्, ‘भोलि बैंकबाट झिकेपछि भारु किन्छन्, त्यतिबेला एक सय ६५ तिर्न खोज्लान् । यसरी नेपाली अर्थतन्त्रलाई एक सय भारुको कारोबारमा १० रुपैयाँ फाइदा हुनसक्छ ।’

तर अर्थशास्त्री आचार्य भने नेरु बलियो बनेपछि नेपालको निर्यातमा कमी आउने र भारुको बिगबिगीका कारण आयात बढ्ने बताउँछन् । ‘यो प्रक्रियाले भारतसँगको व्यापार घाटा झन् बढ्ने निश्चित छ ।’

के यो स्थायी समस्या हो ?

भारुको बिगबिगी अस्थायी प्रक्रिया भएकोमा भने पोखरेल र आचार्य सहमत छन् ।

पोखरेलका अनुसार राष्ट्र बैंकले आफ्नो ढुकुटीबाट भारु प्रवाह बन्द गर्नेवित्तिकै बजारमा रहेको अत्यधिक भारु हराउँदै जाने बताउँछन् । राष्ट्र बैंकले अध्ययनपछि यस्तो कदम उठाउन सक्ने उनको भनाई छ ।

अर्थशास्त्री आचार्य राष्ट्र बैंकले समयमैं अध्ययन गरेर हस्तक्षेप नगरे १२ खर्बको व्यापार घाटा झन् बढ्ने बताउँछन् । अहिले नेपालबाट भारततर्फ हुने अनौपचारिक व्यापार बढी भएर भारु ओइरिएको हो भने भारतबाट नेपालतर्फ अनौपचारिक व्यापार भएमा भारु भारतमैं फर्कने आचार्यको ठम्याई छ ।

अनौपचारिक व्यापारमा सबैभन्दा ठूलो कारोबार हुने यार्सागुम्बाले पनि भारुको बिगबिगी कम गर्न सक्ने अनुमान गर्छन् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सीमा क्षेत्रमा मुद सटही कारोबार गर्दै आइरहेका जंगबहादुर मल्ल ।

‘अब भारतको कुमाउँ र गढवालबाट यार्सा अनौपचारिक कारोबारमार्फत् नेपाल भित्रिने बेला हो’ मल्ल भन्छन्, ‘अहिलेको अतिरिक्त भारु भारतका यार्सा व्यापारीले फिर्ता लैजान्छन् ।’onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार