थेसिसका क्रममा टियुका विद्यार्थीले कहिलेसम्म दुर्व्यवहार खेप्ने?

0
SHARES
16
VIEWS

रातको समय खचाखच बस्ती सुस्ताइसकेको थियो। त्यहीँ बेला मधुरो बत्ती बालेर सुशीला कार्कीको पुस्तक ‘न्याय’ पढ्न थालेँ।

न्याय किताब पढ्दा रसै रसले भरिएको रसबरी जस्तै, उत्साहै उत्साहले भरिएको साहसिक स्वासको भाव आउथ्यो।

निर्भीक-निडर पूर्वप्रधानन्यायाधीशको न्याय पढ्दा हर शब्दले ढाडस दिइरहेको आभास हुन्थ्यो। मानौं भित्रभित्रै आफ्नो सही मार्गलाई नदबाऊ, दबेको आवाज बुलन्द उठाऊ भन्ने कुरा मनलाई दिमागले निः सन्देह संकेत गरि रहेको जस्तो लाग्थ्यो।

यत्तिकैमा त्रिभुवन विश्वविद्यालयमा सँगै पढेकी साथीको फोन आयो।

‘ओ मैच्याङ के गर्दै हो?’

मैले जवाफ दिए- न्याय पढ्दै छु माया।

यतिकै उसले ल्याग्रो तानेर बोलिहाली- ‘हो पढ न पढ। तर तिमीले न्याय पढ्दै गर्दा सँगैको साथी अन्यायमा परेको कथा पढ्न बिर्सियौ? तिमीले अनेकौं लेखहरू लेख्दै गर्दा कहिल्यै हाम्रो मर्कामा परेका मुद्दाको विषयमा लेख्ने कुरा देखिनौ?’

म एकैछिन नाजवाफ भएँ। तर ऊ एकोहोरो बोलिरही मानौं कि कुनै समचार वाचिका हो ऊ।

Ncell
लामो स्वास फेर्दै मैले उसको कुरालाई बीचमै रोकेर सोधेँ- ओइ, तिमीले के भनेको? सपनामा बर्बराएजस्तो गरिराछौ। किन एकोहोरो बर्बराइरहेकी? तिमीले भनेको साँचो हो?

उसले जवाफ दिइहाली- हो सय प्रतिशत साँचो हो। तिमीलाई विश्वास नलागे भेटेरै बताउँला सबै।

केही वार्तालापपश्चात कुरालाई त्यहीनेर बिट मार्दै भोलिपल्ट भेट्ने निर्णय गर्यौं।

साथीको कुराले मन मडारिएको थियो। यतिकैमा लामो रात पनि छिचोलियो। भोलिपल्ट बिहानै कीर्तिपुर विश्वविद्यालयतिर लागे।

ठीक १० बजे ऊ पनि पांगा दोबाटोबाट आइपुगी। भेट्नासाथ मलाई अँगालो हाली। उसका नयन भिजेका थिए। ओठमा फिस्स मुस्कानमात्रै थियो। मनभरि गुम्सिएको गह्रुंगो भारी भएको कुरा उसको अनुहारबाट प्रष्टै देखिन्थ्यो। तर ऊ त्यो भारी बिसाउन चाहन्नथी।

त्रिवि केन्द्रीय पुस्तकालय अगाडि रहेको रोज गार्डेन चौरको एक छेउमा बस्यौं। गार्डेनको चारैतिर रोजमेरीको सुगन्ध मन्द गतिमा फैलिएको थियो। त्योभन्दा धेरै दुबैको मनमा छटपटी र बेचैनको ज्वाला बलिरहेको थियो।

म टुक्रुक्क बस्दै मात्र के थिएँ, उसले आफ्नो सारा वृतान्त सुरू गरी।

‘नैतिकताको धरोहर, बौद्धिक व्यक्तित्वको जमात र ज्याराकाण्डले ढकमक्क सजिएको त्रिविको सुन्दर शान्त वातावरणले मलाई निकै लोभ्यायो।

भर्भराउँदो बैंसका सपना बोकेर गरिब देशको सुदूरपश्चिमबाट धनाढ्य सहर छिरेकी थिएँ। त्यसबेला म एकदमै अन्जान थिएँ।

प्रकाश सपुतको चर्चित गीत सकम्बरीमा रहेकी पात्र फूलमाया जस्तै निर्दोष। गाउँबाट उच्च शिक्षा हासिल गर्न आमाले राखेको सुकेको तरकारी, बाले बचाएर राख्नुभएको २/४ पैसा बोकेर जीवनको नयाँ मोडतर्फ मोडिँदै अनवरत यात्रा तय गर्न निस्केको थिएँ।

बादलको फोका जस्तै माथिमाथि फुङ्ग उडेका सपना साकार बनाउने आशमा, मुटुभरी गाउँको माया र बाआमाको आशीर्वाद शिरोपर गर्दै कीर्तिपुरमा डेरा जमाउन थालेँ। भोलिपल्टदेखि देशकै जेठो विश्वविद्यालयमा पढ्ने कुराले एकदमै उत्साहित थिएँ।

पहिलो ओरिन्टेसन प्रोग्राममै अडिटरियम हलका चारै वटा भित्ताहरू ठूलाठूला स्पिकरले गुञ्जिएका थिए। खचाखच भरिएको हलमा नयाँ अनुहारका अपरिचित मानिसहरूका आखाँहरू एक अर्कासगँ जुधिरहेका थिए।

अगाडि मञ्जमा रहेका बौद्धिक दिग्गजका गहकिला विचारले पढाइप्रति मनमा उत्साह थप्दै गइरहेको थियो। त्यसपछि बिस्तारै साथीहरूसँग परिचित हुँदै गएँ।’

यति भनेर ऊ एकैछिन चुप लागी। म उसको थप कुरा सुन्न आतुर थिएँ।

उसले अगाडि थपी- हामी विद्यार्थी यात्री। विद्यालयदेखि पढ्दै विश्वविद्यालयसम्म आइपुगेका थियौं। किताबका प्रत्येक पाना पल्टाउँदा पाना नौलो लाग्छ त्यसरी नै विश्वविद्यालयका हरेक दिन फरक र नौलो थियो।

भिन्न भाषा, भेष र रितिरीवाजका साथीहरू। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै शिक्षार्थीको गन्तव्य त्रिभुवन विश्वविद्यालय बनेको थियो। यसरी पहिलो सेमेस्टरदेखि चौथो सेमेस्टर पढ्दासम्म थुप्रै तीता मिठा अनुभव बटुल्दै समय बितेको पत्तै पाइएन।

कक्षाकोठामा पनि अब्बल शिक्षकहरूबाट ज्ञान आर्जन गर्ने मौका मिल्यो। तिमीलाई थाहा छ, केही शिक्षकहरू निकै सहयोगी र आत्मीय थिए। ती मेरा लागि आदरणीय छन्। सबै यस्तै सहयोगी भइदिएको भए किन अनेक सास्ती खेप्नु पर्थ्यो होला र भन्ने लाग्छ। तर चाहे जस्तो कहाँ हुन्छ र!’

म चुपचाप उसको कुरा सुनिरहेको थिएँ। ऊ बोल्दै गइरहेकी थिई।

‘यहाँ त्यतिसम्म गिरेका गिरोहहरू पनि छन् जसले गर्दा मिडियामा शिक्षकबाट दुर्व्यवहार भएका अनेकौं समाचार आइरहन्छ। केही यस्ता गलत मानसिकता बोकेको बौद्धिक दरिद्रता भएकाहरू पनि छन् जसले विश्वविद्यालयको गरिमा नै गिराएका छन्। तर त्यहाँ गिरोहभन्दा दिग्गज शिक्षकहरू हुनुहुन्थ्यो। त्यसैले आज पनि उहाँहरूलाई सम्झँदा श्रद्धाले शिर निहुँरिन्छ।

ती शिक्षकहरूले दिएको ज्ञानको ज्योतिले गर्दा आज कयौं विद्यार्थीहरूले आफ्नो भविष्य सँगसँगै राष्ट्रलाई समेत उज्यालो बनाएका छन्। ती शिक्षकले दिनुभएको शिक्षाले गर्दा आज धेरैले सत्मार्ग अपनाएका छन्। ती शिक्षकको छत्रछायामा पढ्न पाउने आशमा आज पनि थुप्रै विद्यार्थीहरू निजी क्याम्पस नपढी त्रिवि आउँछन्।

तर केही गलत मानसिकता बोकेको बौद्धिक दरिद्रता भएकासँग म ती दिग्गज शिक्षकलाई छोडेर गालीको वर्षात गर्न चाहन्नँ। त्यही हुलमा यस्ता मान्छे पनि छन् जसले छोरी र बहिनी समानका छात्रा विद्यार्थीलाई विभिन्न आश्वासनमा पारी गिद्दे नजर लगाउँछन्। त्यहाँ त्यस्ता मान्छे छन् जो भ्रष्टाचारमा लिप्त भइसकेका छन्। जसले आफ्नै नैतिक पतन भएको पत्तो पाएका छैनन्।

त्यही हुलमा त्यस्तै खालका एक मास्टर समेत थिए जो खोक्रो ज्ञानको खोल ओडेर विशाल बागडोर सम्हालिरहेका थिए। सम्झिँदा पनि आज ती हिस्रकप्रति घृणा जागेर आउँछ।

हेर, मजस्ता अरू पनि यस्तो पीडामा रहेका छन्। धेरैले थेसिस लेख्ने क्रममा यौन दुराचारको सास्ती खेप्नु परेको छ। धेरैले आफ्नो आवाजलाई दबाएर राखेका छन्।

तिमीले त कानुन पढेकी छौं, पत्रिकामा पनि लेख्छौं। त्यसैले तिमीसँग आफ्नो पीडा सुनाएकी हुँ। स्नातकोत्तर तहका विद्यार्थीहरूले त यस्तो समस्य भोग्नुपर्छ भने साना स्कुल-कलेजका छात्रा विद्यार्थीको कस्तो अवस्था होला?

किन हामी यति ठूलो ठूलो विश्वविद्यालयमा पनि सुरक्षित छैनौं?’

उसको प्रश्नको जवाफ मसँग थिएन। उसले गरेका प्रश्नहरूले मेरो मन कोतरिरहेको थियो। अझ थप प्रश्नहरू उठे। तर प्रश्न जति सरल थिए उत्तर एकदमै कठिन थिए।

थेसिस लेख्ने क्रममा एक जना शिक्षकले मौका छोपेर उसको प्राइभेट पार्टमा हात लगाएकोबारे सुनाई। कयौं साथीहरूलाई आफूले भनेअनुसार गरेमा अंक दिने प्रलोभनमा पार्न खोज्ने शिक्षकको बारेमा समेत सुनाई। उसले सुनाएका कुरामा म स्वमं अनविज्ञ थिएँ। तर एकताका म आफू पनि केही हदसम्म यी कुरामा परेकी थिएँ।

उसले फेरि थपी, ‘यसको अनर्थ नलागोस्। राम्रा प्रध्यापकको इज्जतमा आँच नआओस्।’

एकाध घन्टाको बसाइपछि हामी छुट्टियौं। अशान्त मन लिएर घर आएँ। कैयौं साथीहरूले आज पनि थेसिसका क्रममा खेपेको नमीठो अनुभव कीर्तिपुरको फोटोकपी पसलहरूमा भेट्दा सुनाउँछन्। कैयौं साथीहरू अझै पनि आफ्नो आवाज सुन्दिने कोही भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। तर अहिलेसम्म अगाडि आएर बोल्न कसैले सकेका छैनन्।

कोही अंक समयमा जाँदैन कि भन्ने पिरमा छन् त कोही आफ्नै बेइज्जत हुन्छ कि भन्ने दुविधामा त कोही दबाबमा मौन छन्।

यौन दुर्व्यवहार जस्तै गुमसुम पैसाको कारोबार छ। यस्तै आर्थिक लेनदेनको कारोबारले गरिब निमुखा छात्र र छात्रा दुवैलाई उत्तिकै सताएको छ।

यस्तो बौद्धिक दरिद्रताले भरिएका शिक्षकको घैंटोमा घाम लागोस्। विश्वविद्यालयमा पढ्ने छात्रछात्राहरूले यस्तो खेप्न नपरोस्।हाम्रो समाजमा यस्ता मास्टर पनि छन् जो आफू बदलिन्नन् तर समाज बदल्ने देखावटी प्रण गर्छन्। तिनलाई सम्झिँदा पनि टाउको तातेर आउँछ।

त्यसैले मेरो चिन्ता र खेद ती अभिमानी, अहङ्कारी, अज्ञानी पात्रप्रति छ जो भित्र विषाक्त आकांक्षा पालेर बादमासी गर्दै बाहिर सर्वमान्य बन्न चाहना राख्छन्। अनि त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्छ? ज्ञान सीप र सिकाइको संगालोले भरिनुको सट्टा डर, त्रास र भयले भरिन बाध्य छन्? यस विषयमा गम्भीर भएर लाग्नु जरूरी छ।

आज एउटा छात्रा विद्यार्थीले प्रमाणस्वरूप त्यस्ता यौन दुर्व्यवहार गर्ने व्यक्तिको विरूद्धमा मुद्दा दर्ता गर्ने हो भने छिनभरमै तिनले ३ प – प्रेष्टिज, पावर र प्रोप्रटी गुमाउनेछन्। तर पीडित विद्यार्थीहरूको मौनताले तिनीहरू जोगिएका छन्। अब त्यो मौनताको पर्दा उघार्न जरूरी छ। ताकी ती मानवहरूको आत्मबोधको प्रवेशद्वार खुलोस्।

अर्काथरी पनि छन् जो कक्षाकोठाभन्दा बाहिरै कुदिरहन्छन्। कहिले अनुसन्धानमा जाने भन्छन् त कहिले तालिममा। उनीहरूलाई आफ्नै क्याम्पसमा के भइरहेको छ पत्तो छैन। आफ्नै क्याम्पसमा के भैरहेको छ भनेर थाहा पाउने अनुसन्धानमा लाग्नुस्।

आदरणीय गुरूवर्ग पहिला आफ्नो घरआँगनको फोहोर सफा गर्नुस्। घरलाई लथालिंग छोडेर चोकमा रहेको फोहोरमा झाडु लगाउन छोड्नुहोस्। विद्यार्थीको समस्या बुझ्नुस्, खोज्नुस् र बाहिर ल्याउनुस्।

विश्वविद्यालयका पदाधिकारीहरूले पनि तथ्यअनुसार दोषीलाई कानुनको कठघरामा पुर्‍याएर विश्वविद्यालयलाई दुर्गन्ध हुनबाट बचाउनेतर्फ पहल गरोस्।setopati bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार