भारतिय नागरिकलाई नेपाली नागरिकता …स्थानीय नेताले किर्ते नागरिकता बनाउन सघाए…जितलाल ताजपुरिया

0
SHARES
14
VIEWS

भारतिय नागरिकलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको भन्दै नेकपा एमाले गौरीगंज गाउँ कमिटि वार्ड नं. २ ले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गराएको छ ।
वार्ड नं. २ कमिटिका अध्यक्ष बलराम राजवंशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा गौरीगंज गाउँपालिका वार्ड नंं. २ ले विभिन्न प्रपञ्च गरी गैह्र नेपालीलाई नागरिकता प्रमाण पत्र सिफारिस गरेको उल्लेख छ । गैह्र नेपालीलाई नागरिकता दिलाउन कागजात साथै प्रक्रिया मिलाउने व्यक्ति र कार्यालयलाई कानुनको दायरामा ल्याई नागरिकता रद्व गराउन विज्ञप्ति मार्फत माग गरेको छ ।

कसरी दिइयो भारतियलाई नेपाली नागरिकता ?
एमाले गौरीगंज वार्ड नंं. २ कमिटिद्वारा विज्ञप्ति प्रकाशित भएपछि नागरिकताको विषयमा खोजविन गरेको थियो । झुटा विवरण पेश गरी गौरीगंज गाउँपालिका वार्ड नंं. २ कोरोवारी ठेगाना राखी सन्तोष ताजपुरिया भनिने भारतिय नागरिकलाई वंशजको नेपाली नागरिकता प्रमाण पत्र दिएको पाइएको छ ।
इलाका प्रशासन कार्यालय गौरीगंजबाट जारी भएको उनको नागरिकतामा बाबुको नामको महलमा जित लाल ताजपुरिया रहेको छ । जितलाल ताजपुरिया गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोबारीका स्थायी बासिन्दा हुन् । सन्तोष ताजपुरिया भनिने भारतिय नागरिकलाई नक्कली बाबु बनेका जितलाल ताजपुरियाले नागरिकता नं. ०४–०६–७९–०२०२० को झुटो विवरण पेश गरी नागरिकता बनाइ दिएको स्विकार गरेका छन् । २०५८ साल ८ महिना १४ गते जन्म मिति राखेर मिति २०६७ साल १२ महिना २३ गते सन्तोष ताजपुरियाको नाममा जन्म दर्ता बनाएको पाइएको छ । उत्त जन्म दर्ताको प्रतिलिपी २०७८ साल ०८ महिना ०५ गते लिएको दर्ता अभिलेखमा उल्लेख छ । तत्कालिन कोरोवारी गाविस वार्ड नंं. ७ जन्म स्थान राखेर भारतिय नागरिक सन्तोष ताजपुरियालाई इलाका प्रशासन कार्यालय गौरीगंजले मिति २०७९ /११ /१९ गते नेपाली नागरिकता दिएको हो ।

इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाईले सन्तोष ताजपुरियाको नागरिकता किर्ते गरी बनाएको थाहा पाएलगतै उनको नागरिकता झिकाई रद्य गरी आवश्यक कानुनी कार्वाहीका लागि फाइल आगाडी बढाइसकिएको बताए । उनले भने, ‘झुटा विवरण पेश गरी सन्तोष ताजपुरियाको नाममा नेपाली नागरिकता बनेको रहेछ कार्वाहीका लागि एक महिना अगाडि नै फाइल अगाडि बढाइसकेका छौ ।’
इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाइले सन्तोष भनिने भारतिय नागरिकलाई नेपाली नागरिकता मिति २०७९ साल ११ महिना १९ गते दिएका हुन् । सन्तोष ताजपुरिया गौरीगंज गाउँपालिका वार्ड नंं. २ कोरोबारीका स्थायी बासिन्दा हुन् वा होइनन् भनेर इलाका प्रशासन कार्यालय गौरीगंजले केही दिन अगाडी वार्ड नंं. २ कार्यालयसंग पत्र मार्फत जवाफ मागेको इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख आँपगाईले बताए । वडा कार्यालयले सन्तोष ताजपुरिया स्थायी वासिन्दा नभएको भनी जवाफ फर्काएपछि कार्वाही प्रक्रिया अगाडी बढाएको इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख आँपगाईले जानकारी दिएका छन् ।
नक्कली बाबु बनेका जितलाल ताजपुरियाले आफुलाई केही मानिसहरुले फसाएको बताएका छन् । उनले भने, ‘मसंग मेरो नागकिरता मागे र केही दिनपछि २० हजार रुपैयाँ दिएसंगै मेरो नागरिकता फर्काए ।’ पैसा दिने को को व्यक्ति हुन् भनी फोन मार्फत जिज्ञासा राख्दा उनले भने, ‘ यहीँका मान्छे हुन् म गाउँको मान्छे मलाई फसाए ।’ स्थानीय नेताले किर्ते नागरिकता बनाउन सघाएको जितलालले बताए । तर उनले नाम खुलाउन चाहेनन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. २ का वडा अध्यक्ष किनालाल राजवंशीसंग नागरिकताको विषयमा बुझ्न खोज्दा फोन उठेन । पेश गरिएका जन्म दर्ता प्रमाणपत्र, बाबु आमाको नेपाली नागरिकतालगायत कागजातको आधारमा नेपाली नागरिकता दिइने कानुनी प्रावधान छ ।

झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा कानुनमा के छ सजाय ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ । भन्ने व्यवस्था छ भने ऐ।को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । भन्ने व्यवस्था छ । त्यस्तै ऐ। को दफा १४मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ भन्ने व्यवस्था छ ।
ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः
१.कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
२. कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३. कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।kochilanews bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार