रूपन्देहीको लुम्बिनीमा स्कूल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुवारीमा शनिबार स्कूल बसको ठक्करबाट स्थानीय २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको गम्भीर घाइते भएकी छन्। उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले स्कूल बसमा आगो लगाएका छन्। आगोबाट बस पूर्ण रुपमा क्षति भएको छ।
त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ। घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले भट्टले बताए। स्कूलमा बसमा विद्यार्थी भ्रमणमा जाँदै थिए।
himalkhabar bata
Discussion about this post