भाटभटेनी-३० अर्बको कारोबार: १३ अर्ब ऋण: मिनबहादुर गुरुङ

0
SHARES
54
VIEWS

काठमाडौं । मीनबहादुर गुरुङ नाम सुन्नासाथ सबैलाई भाटभटेनीको सम्झना गराउछ ।

काठमाडौंको भाटभटेनी मन्दिरमा ३५ हजार लगानीमा शुरु गरेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले भाटभटेनी मन्दिरको परिचय नै ओझेलमा पारिदियो । बरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको गुनासो काठमाडौंमा भाटभटेनी घर भन्दा कुन भाटभटेनी भनेर आउने प्रश्नप्रति गुनासो हुन्थ्यो । यसले भाटभटेनीको ब्राण्डलाई स्थापित बनाएको थियो ।

एउटै छानमुनी सबैकुरा पाइने बार्गेनिङ गर्न नपर्ने समयको बचत भाटभटेनीका विशेषता हुन् । शुरुको वर्ष भाटभटेनी त्यसपछि महाराजगन्जमा स्टोर खोल्दासम्म भाटभटेनी सुपरमार्केटको ग्राहक उच्च मध्यम वर्ग नै थिए । पछिल्ला वर्षमा काठमाडौं बाहिर खुलेका स्टोरमा थेगिनसक्नुको भिडले भाटभटेनीको सफलतालाई देखाएको थियो ।

भाटभटेनीले स्टोरको संख्या बढाउदै गएपछि यसको ग्राहक उच्च मध्यम वर्गबाट निम्न मध्यम वर्गको आकर्षणको केन्द्र नै भयो । भाटभटेनीबाट प्राप्त भएको सफलतासँग मीनबहादुरको लगानी बैंक,बीमा हुँदै स्टिल उद्योगमा समेत फैलिएको छ । खोटाङको सामान्य परिवारमा जन्मेका मीनबहादुरको सफलताले हरेक व्यवसायमा लाग्न अभिप्रेरणा दिने खालको थियो ।

व्यवसायसँगै समाजसेवामा समेत सक्रिय रहेका गुरुङ टिचिङ हस्पिटलमा एउटा भवन नै बनाइदिएका थिए । नेपालमा आउने दैवी प्रकोप र महाहारीमा सहयोगमा नै अगाडि थिए ।

३५ हजारमा शुरु गरेको भाटभटेनीले गतवर्षमात्र २९ अर्ब ७० करोडको व्यापार गरेको थियो । एउटै कम्पनीको व्यापारको आधारमा हेर्दा बढी व्यापार गर्ने ठूला ५ कम्पनीमा भाटभटेनी नाम थियो ।

व्यापार पनि पछिल्लो ६ वर्षमा दोब्बर नै भएको थियो । सन् २०१७ मा ११ अर्ब ७७ करोडको व्यापार गरेको भाटभटेनीले २०२३ मा आइपुग्दा व्यापार २९ अर्ब ७० करोडको व्यापार गरेको थियो ।

भाटभटेनीको नाममा मात्र १२ अर्ब ८७ करोडको ऋण थियो । उनका अन्य कम्पनीमा गर्दा मीनबहादुर गुरुङको नाममा बैंक तथा वित्तीय संस्थाबाट १५ अर्बभन्दा बढी ऋण गएको अनुमान गर्न सकिन्छ ।

कारोबार र लगानीकर्ताको हिसाबले नेपालका ठूला व्यवसायीमा मीनबहादुरको परिचय थियो । जुन पहिलो पुस्ताको व्यवसायीले गरेको लोभलाग्दो परिचय ।

यो भयो मीनबहादुरको सफलता र उद्यमशिलताका कुरा । तर,पछिल्लो एक महिनामा मीनबहादुरको परिचय नक्कली भ्याट बिल प्रयोग गर्ने र सरकारी जग्गा व्यक्तिगत बनाउने आरोप प्रमाणित भएको छ ।

नक्कली भ्याटबिलको मुद्दा उनले सर्वोच्चबाट हारेका छन् । जसले गर्दा मीनबहादुरलाई १ अर्बभन्दा बढीको घाटा लागेको छ । नक्कली भ्याटबिलको मुद्दामा मीनबहादुर जेल जानुपर्ने छैन । उनले जरिवाना मात्र तिरे पुग्छ । तर,बालुवाटार जग्गा प्रकरणमा भने उनी विशेष अदालतबाट दोषी ठहर भएका छन् । सर्वोच्च अदालत जाने र तत्कालको लागि जेल जानु नपेपनि २ वर्षका जेल सजाय भने विशेष अदालतले फैसला गरेको छ ।

व्यवसायमा सफलता प्राप्त गरेर पुस्तान्तरणमा रहेको बेला गुरुङ गम्भिर मानिने आर्थिक अपराधमा दोषी भएका हन् ।

गुरुङको केसले अन्य व्यवसायीलाई समेत सरकारी जग्गा र नक्कली भ्याटबिल प्रयोग गर्ने र सबैकुरा मिलाउन सकिन्छ भन्ने भ्रमबाट मुक्ति दिएको छ । लगानी न्युजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार