अब जनताले दुःख नपाऊन् भनेर सरकार नै जनता खोज्दै घरदैलोमा …मुख्यमन्त्री केदार कार्की

0
SHARES
12
VIEWS

‘अहिलेसम्म सरकार खोज्दै जाँदा जनताले दुःख पाए, अब जनताले दुःख नपाऊन् भनेर सरकार नै जनता खोज्दै घरदैलोमा पुगेको हो।’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की झापाको बाहुनडाँगी, प्रसादे गौंडाबाट उदयपुरको कटारी, बेलसोतसम्मको पदयात्रामा छन्। प्रसादे गौंडाबाट फागुन ९ मा शुरू भएको पदयात्रा फागुन १६ मा सकिनेछ।

कोशीको वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा सञ्चालन गरिएको हो। यस पदयात्राका क्रममा २४ वटा स्थानीय तहका नागरिकसँग भेटघाट र छलफल गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यही पदयात्रामा केन्द्रित रहेर मुख्यमन्त्री कार्कीसँग हिमालखबरका लागि सुजाता ढुंगानाले गरेको संवाद :

एक दिनको यात्रा पूरा गर्नुभएको छ। यसबीचमा नागरिकसँग भेटघाट-छलफल पनि गर्नुभएको छ। कस्तो प्रतिक्रिया पाउनुभयो?

झापाको बाहुनडाँगी-४, प्रसादे गौंडादेखि उदयपुरको बेलसोतसम्मको पदयात्रामा छौं। पहिलो दिनको अनुभव राम्रो रह्यो। पदयात्राका क्रममा घर घरमै पुगेर नागरिकसँग संवाद गरिरहेका छौं।

जनताले आफ्नो घरमा सरकार आएको महसूस गरेको प्रतिक्रिया दिइरहेका छन्। जसले गर्दा अझ जनताका कुरा सुन्न, छलफल गर्न र समाधानको बाटो खोज्न जिम्मेवार बनाएको छ। जंगलछेउका जनताका पीडाबारे गहिरिएर बुझ्ने अवसर पनि मिलेको छ।

पहिलो दिन बाहुनडाँगी क्षेत्रका नागरिकले ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले हात्तीबाट भएको हानिनोक्सानीको क्षतिपूर्ति र सुरक्षित जीउधनको माग गरेका छन्। प्रदेश सरकारले कसरी समाधान गर्छ?

बाहुनडाँगीका नागरिकले दिएको ज्ञापनपत्रका अधिकांश बुँदा र हामीले अहिलेसम्म भेटेका जंगलछेउका बासिन्दाका कुरा मिल्दाजुल्दा छन्। पदयात्राका क्रममा भेटिएका व्यक्तिसँग भएका कुराकानी, दुःख र सुझाव टिपोट गरेका छौं। पदयात्रा सकिएपछि यसरी आएका सुझावको सूची बनाउँछौं।

त्यसपछि प्रदेश सरकार र स्थानीय जनप्रतिनिधि सँगै बसेर छलफल गर्छौं। तत्काल र दीर्घकालीन रूपमा के गर्न सकिन्छ, योजना बनाउँछौं र समस्या सम्बोधन गर्नेछौं।

बाहुनडाँगीदेखि बेलसोतसम्म किन पदयात्रा गर्नुपरेको हो?

गाडीबाट जाँदा जंगलछेउका जनताका घरसम्म पुग्न सकिंदैन। कति त सम्भव पनि हुँदैन। कहिले घरमा मान्छे भेटिंदैनन्, घर घर छिर्न र कुरा गर्न सकिंदैन। हेलिकोप्टरबाट गयो, तलबाट हामीलाई देख्दैनन्, माथिबाट हामी देख्दैनौं।

त्यसैले जनताको घरैभित्र छिर्ने, मूल जरो पत्तो लगाउने सबैभन्दा उत्तम उपाय पदयात्रा हो। जंगलभित्र छिर्ने, जंगली जनावर किन बाहिर निस्किए पत्ता लगाउने, पानी सुकेर हो कि खान नपाएर हो, अहिले अध्ययनको चरणमा छौं।

पदयात्रा भनेर गुटुटु कुद्ने गरेका छैनौं। जनतासँग, सामुदायिक वनसँग, स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै छौं। सरकार खोज्दै जाँदा जनताले दुःख पाए, अब जनताले दुःख नपाऊन् भनेर सरकार नै जनता खोज्दै आएको हो। जनतासँगको सामीप्य बढाउन पदयात्रा गरेका हौं।

जहाँबाट यात्रा शुरू गर्नुभयो, त्यस भेगका नागरिकले प्रत्येक चुनावमा सबै राजनीतिक दलबाट हात्तीका लागि अनुकूल वातावरण र क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिंदै आएका छन्। तर कहिले समस्या सुल्झिएन। अहिले तपाईंको पदयात्राले उनीहरूको समस्या सम्बोधन हुन्छ भन्ने विश्वास कसरी गर्ने?

म नागरिकका समस्या सुन्न केही थान नागरिकलाई मुख्यमन्त्री कार्यालयमा चिया खाँदै गफ गरौं भनेर बोलाउन पनि सक्थें, आउनु पनि हुन्थ्यो। तर त्यसो गर्दा म हात्तीले हैरानी बेहोरेका, आफन्त गुमाएका, घर भत्काएका र अभाव भोगेका मान्छेबीच पुग्न सक्दिनथें। म जस्तै नेतृत्व गरेका केही व्यक्तिसम्म मात्रै पुग्थें।

पदयात्राका क्रममा हात्तीबाट पीडितसँग कुराकानी गर्दै मुख्यमन्त्री केदार कार्की।
जनप्रतिनिधि चुनावका वेला भोट माग्ने मात्रै नभई चुनाव सकिएपछि पनि जनमैत्री बन्नुपर्छ। म अहिले हिंड्दै गरेको भूभागको मुख्यमन्त्री हुँ तर यस भूभागका नागरिकले मलाई मत हाल्न पर्दैन। म जनताको मनको कुरा सुन्न गाउँ छिरेको छु। हात्ती हिंड्ने बाटो हेर्दै छु। हात्तीले पुर्‍याएको क्षतिको अनुगमन गर्दै जंगलछेउका नागरिक कति गहिरो समस्यासँग जुध्दै रहेछन् भनेर बुझ्दै छु।

हामी ‘प्रि-बजेट’ को तयारी गर्दै छौं। हात्तीले समस्या गरेको क्षेत्रमा मैले चुनाव लड्नु पर्दैन तर जिम्मेवार बन्नुपर्छ। चुनावी प्रचारको नारा मात्रै दिनु हुँदैन, चुनाव जितेपछि पनि जनमैत्री बन्नुपर्छ भनेर यात्रामा आएको हुँ।

हात्ती हिंड्ने बाटोमा मानव बस्ती छ। अहिले पदयात्रा गरिरहेको बाटोमा हात्ती आउने गरेका छन्। अब त्यो बाटो खाली हुन्छ कि सडक बन्छ?

यो हात्ती हिंड्ने बाटो हो, हात्तीले वर्षौंदेखि हिंड्दै आएको छ। प्रदेश सरकारले यसलाई केही गर्न पर्दैन। बरु जनताले नै घर बनाएका छन्।

हामी नागरिकको जीउधनको सुरक्षाका लागि काम गर्न खोज्दै छौं। हाम्रा नीति तथा कार्यक्रम र बजेट प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हुनुपर्छ, जनतामा सुुख बाँड्ने हुनुपर्छ। हात्तीका लागि कच्ची वा पक्की सडक बनाउनेतिर होइन, जनताको बालीनाली जोगाउने र जीवन सुरक्षित बनाउने काम गर्छौं।

चुनाव भएदेखि नै कोशीमा सरकार बन्ने र भत्किने भइरहेको छ। घरदैलोमा पुग्दा सरकारबारे नागरिकले के भनिरहेका छन्?

जनताले उत्प्रेरणा दिइरहेका छन्। मलाई जिम्मेवारीबोध गराएका छन्। यस विषयले अझ गम्भीर बनाएको छ। मुख्यमन्त्री कार्यालयमा बसेर फाइल हेर्नेभन्दा जनताले पाएको हैरानीको फाइल हेर्दै हिंडेका छौं।

त्यस्तै, ‘प्रि-बजेट’ को अभ्यास संसद्‌भित्र मात्रै होइन, जनतामा र जनताको आकांक्षामा पनि पुग्नुपर्छ भनेर मनबाटै संवादमा छौं। उदयपुरको बेलसोतसम्म पुगेर फर्किएपछि जिम्मवारी पूरा गर्छौं। नागरिकका दुःख थोरै भए पनि घटाउने प्रयास गर्नेछौं।
himalkhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार