बुद्धचित्तको रुखका धनीलाई प्रतिशोध – विप्लवका नेता पनि फरार- तामाङ पक्राउ

0
SHARES
5
VIEWS

काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुखका धनीलाई फोन तथा म्यासेज गरेर पटक–पटक बुद्धचित्त मालाका कारोबारीले धम्क्याएको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रहरीले अनुसन्धानका क्रममा मानबहादुर तामाङ (सिजन) लाई पक्राउ गरेको छ, जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम)’ भनेको भेटिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनलाई फोन गरेर समेत ‘यदि मैले माला पाइनँ भने त्यो कसैको हुँदैन’ भनेर धम्की दिएको खुलेको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले पनि अनुसन्धानका क्रममा सिजनलाई पक्राउ गरिएको पुष्टि गरिन् । तर, संलग्नता पुष्टि भइनसकेको जनाइन् ।

‘बजारमा निकै राम्रो मानिने बुद्धचित्तको माला उक्त रुखमा फल्ने रहेछ, त्यसैले यो लिनलाई व्यवसायीबीच हानथाप हुँदै आएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘त्यसक्रममा सिजनले पनि यो रुखमा आँखा लगाएका रहेछन् ।’

स्रोतका अनुसार, बुद्धचित्तको माला भएको जग्गा ठकुरानी तामाङको नाममा छ । उनका चार जना छोराहरु छन् । एक छोरा शेरबहादुर तामाङले कुरा गर्दै सिजनले माला किन्न खोजेको स्वीकारे ।

‘तर, दुई/तीन महिनाअघि वार्षिक ३ करोड रुपैयाँ दिने गरी सम्झौता गरेर ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थियौं’, उनले भने, ‘अहिले बल्ल रुखमा फूल फूल्दै थियो, फल्नुअघि नै रुख काटिदिए ।’

स्रोतका अनुसार, त्रिपाठीले एक वर्षको रकम अग्रिम भुक्तानी समेत गरिसकेका थिए । त्रिपाठीले यही व्यवसायमा रहेका अरुले आफूले सम्झौता गर्न नसकेको झोंकमा यस्तो घटना गराएको हुनसक्ने बताए ।

‘अरुले पनि किन्न खोजेका थिए, नपाएपछि यस्तो गरेको हुनसक्छ’, उनले भने, ‘फूल मात्र फूलेको बेला रुख काटिदिएकाले पनि यो प्रतिशोधबाहेक केही होइन भन्ने देखिन्छ ।’

प्रहरी स्रोतका अनुसार, बहुमुल्य भएकाले बुद्धचित्त मालामा काभ्रेका आपराधिक पृष्ठभूमिका व्यक्तिहरुसमेत जोडिँदै आएका छन् । यसपालि सम्झौता गरेर माला हात पारेका सत्यमान लामा आफैं पनि आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

कुनैबेला गुण्डा नाइके दावा लामाको समूहमा रहेर काम गरेका सत्यमानको नाम पहिले रक्तचन्दन तस्करीमा पनि मुछिन्थ्यो । काठमाडौं प्रहरीले बनाएको गुण्डागर्दीमा संलग्नहरुको वर्गीकरणसहितको सूचीमा उनी ‘क’ वर्गमा उल्लेखित छन् ।

वार्षिक तीन करोड रुपैयाँमा पाँच वर्षका लागि रुखका सबै दाना लिने सम्झौता गरेका व्यवसायी भन्छन् – यही व्यवसायमा रहेका अरुले आफूले सम्झौता गर्न नसकेको झोंकमा रुख नै काटिदिए
लामामाथि प्रहरीले लुटपाट, गुण्डागर्दी र अवैध डलर कारोबारमा समेत संलग्न रहेको उल्लेख गरेको छ ।

२०७४ सालमा उनी आफैंलाई पनि बुद्धचित्त मालाको लुटपाटमा संलग्न रहेको आरोप लागेको थियो । उनलाई छुटाउन तत्कालीन सांसद् नविना लामा जिल्ला प्रहरी परिसर, टेकु पुगेपछि विवादमा समेत परेकी थिइन् ।

रुखको सुरक्षामा खटाइन्थ्यो गार्ड

बहुमूल्य बुद्धचित्तको माला लुटपाट हुन थालेपछि व्यवसायीहरुले सुरक्षार्थ गार्ड पनि खटाउने गरेका थिए । १२ असार २०७७ मा त्यसरी सुरक्षागार्ड खटाएकै बेला एउटा समूहले गोली चलाएर बुद्धचित्त लुटपाट गरेको थियो ।

मालाको सुरक्षार्थ राखिएको क्लोज सर्किट (सीसी) क्यामरा समेत तोडेर मध्यराति ९० लाख रुपैयाँ बराबरको बुद्धचित्तको माला लुटिएको थियो । प्रहरीका अनुसार, त्यसबेला कम्तिमा २० जनाको समूहमा हतियारसहित गएका व्यक्तिले माला लुटेर लगेका थिए ।

त्यसक्रममा सुरक्षामा खटिएका श्याम तामाङ, जितबहादुर लामा, जितबहादुर तामाङ लगायत घाइते भएका थिए । ‘पहिले पनि यही रुखको माला लुटपाट हुने गरेको हो’, व्यवसायी त्रिपाठीले अनलाइनखबरसँग भने, ‘त्यसैले सुरक्षामा टोली खटाउँदै आएका थियौं ।’

दाना फल्ने बेलामा मात्र लुटपाट हुने गरेकाले जेठदेखि सुरक्षामा टोली खटाउँदै आएको उनले बताए । ‘यसपालि फूल लाग्ने वित्तिकै यस्तो घटना भयो’, उनले भने ।

काभ्रे प्रहरी प्रमुख वसुन्धरा खड्का अनुसार, प्रारम्भिक सोधपुछबाट गएराति ११ बजेदेखि नै अज्ञात समूह बुद्धचित्तको रुख भएको घर आसपास पुगेको खुलेको छ ।

‘राति २ बजेतिर खबर आएको थियो, त्यसको एक घन्टामा इलाका प्रहरी कार्यालय, मंगलटारको टोली पुगेको थियो’, उनले भनिन्, ‘जग्गाधनी ठकुरानी लगायत काठमाडौंमा रहेछन्, घरमा नाती दिलबहादुर तामाङ लगायत थिए ।

खड्काका अनुसार, घटनास्थलमा प्रहरी टोली पुग्दा ४ वटा घरेलु विष्फोटक पदार्थ भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार मध्याह्न त्यसलाई डिस्पोज गरेको छ ।

घटनास्थलमा खटिएका प्रहरी अधिकृतहरुले बताएअनुसार, राति रुख काटेको जस्तो आवाज आउने वित्तिकै घरबाट मानिसहरु बाहिर निस्किन खोजेका थिए ।

‘तर, बाहिर निस्किँदा मारिदिने धम्की दिँदै भित्रै थुनेका रहेछन्’, ती अधिकृतले भने, ‘मेसिन चलेको आवाज आइरहँदा पनि उनीहरुले चुपचाप बस्नबाहेक केही गर्न सकेनछन् ।’

काठमाडौंमा ठाकुरानीकी छोरा शेरबहादुर तामाङले पनि घरमा भएका आफ्नो परिवारका सदस्यलाई अज्ञात समूहले धम्क्याएर भित्र थुनेको अनलाइनखबरसँग बताए । ‘आमा र म यतै (काठमाडौंमा) थियौं, घरमा माल्दाइ, दिदी, भाउजु, छोराछोरीहरु हुनुहुन्थ्यो । उहाँहरुले थाहा पाउँदा बाहिर निस्कियो भने मार्छु भनेर कराएका रहेछन् ।’ हतियार समेत देखेपछि उनीहरु निस्किन नसकेको तामाङले बताए ।

घरमा रहेका ठकुरानीकी नाती दिलबहादुर लामा पनि प्रहरीसँग घरभित्र थुनेर अज्ञात समूहले बाहिर बम राखेको बताएको भनेका छन् । ‘रुख काटेर नेकपा माओवादी जिन्दावाद भन्दै हिँडेको सुनेका थियौं’, उनले भनेका छन् । प्रहरीले घटनास्थलबाट ‘जनमुक्ति’ सेना लेखिएको ज्याकेट पनि बरामद गरेको छ ।

विप्लवका नेता पनि फरार

केहीपर झण्डा र मट्टितेल पनि बरामद भएको प्रहरीले जनाएको छ । विगतमा बुद्धचित्त मालाको कारोबारमा विप्लव माओवादीका जिल्लास्तरीय नेता सागर मैनाली पनि लुटपाटमा संलग्न देखिएका थिए । गोली चलाएर भएको लुटपाटमा उनलाई प्रहरीले अझै खोजी गरिरहेको छ ।

२०७७ सालमा विप्लव माओवादीका सिन्धुली जिल्ला इञ्चार्ज रहेका मैनाली लुटपाटमा संलग्न रहेको अनुसन्धानबाट खुलेको थियो । रोशी गाउँपालिका–६, सिपालीमा घर भएका उनको लुटपाटमा संलग्नता देखिएपछि विप्लव समूहले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।

अहिलेको घटनामा पनि राजनीतिक रंग दिनलाई मात्र ‘जनमुक्ति सेना’को ज्याकेट र ‘राजनीतिक नारा’ जोडिएको हुनसक्ने अनुसन्धानमा खटिएका अधिकृतहरुको दाबी छ । ‘यो विशुद्ध आपराधिक काम हो, अनुसन्धानलाई अल्मल्याउन मात्र यस्तो गरिएको हुनसक्छ’, एक अधिकृतले भने ।

काभ्रे प्रहरी प्रमुख एसपी खड्काले प्रारम्भिक सोधपुछका क्रममा घरमा भएकाहरुले अन्धकारका कारण रुख काट्न आउने व्यक्तिहरुको अनुहार नचिनेको बताएका छन् । ‘यद्यपि पुराना घटनाहरु हेरेर पनि अनुसन्धान गरिरहेका छौं’, उनले भनिन्, ‘अन्य विभिन्न पाटोबाट पनि जाँच भइरहेको छ ।’

के हो बुद्धचित्त ?

बौद्ध धर्मावलम्बीहरुका लागि विशेष महत्वको माला बोधिचित्तलाई स्थानीय भाषामा बुद्धचित्त भनिन्छ । काभ्रेको तिमाल क्षेत्रमा यसका रुखहरु छन् । तीमध्ये पनि गएराति काटिएको रुखमा फल्ने दानालाई गुणस्तरीय मान्ने गरिन्छ ।

‘रुखहरु त थुप्रै छन्, तर यहाँको माला गुणस्तर हुन्थ्यो’, माला कारोबारी त्रिपाठी भन्छन्, ‘त्यसैले यहाँको दानाको मूल्य पनि बढी पर्थ्यो ।’

जानकारहरुका अनुसार, बोधिचित्तको १ सय ८ दानालाई एउटा सिंगो माला बनाएर प्रयोग गर्ने गरिन्छ । यो जप गर्ने प्रयोजनका लागि प्रयोग हुन्छ ।

व्यवसायीहरुका अनुसार, नेपालको बुद्धचित्त माला चीन, तिब्बतबाहेक जापान, मकाउ, थाइल्यान्ड, कोरिया, भियतनामलगायत देशमा पनि पठाउने गरिन्छ ।

‘यसको बजार नेपाल होइन, मुख्य गरी चीन र अरु देशमा निर्यात हुने हो’, त्रिपाठीले भने, ‘बोधिचित्त मालाको बजार मूल्य मालाको प्रकार र आकारअनुसार फरक पर्न जान्छ ।’

अर्का एक व्यवसायीले भने नेपालमा वार्षिक तीन करोडमा सम्झौता गरिएको रुखबाट उत्पादन हुने माला विदेशी बजारमा जाँदा १० करोड रुपैयाँसम्ममा बिक्री हुने बताएका छन् ।onlinekhabar bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार