अर्गानिक गाजर र चुकन्दर कृषि जर्मनी पठाइँदै—’

0
SHARES
9
VIEWS

नेपालमा उचित मूल्य नपाए पनि चितवनका किसानले उत्पादन गरेको ‘अर्गानिक’ तरकारीको जर्मनीमा भने माग भएको छ।

साढे तीन दशकदेखि अर्गानिक खेती गर्दै आएका चितवनका चन्द्रप्रसाद अधिकारीको बारीको तरकारी केही दिनमा जर्मनीमा खान पाइनेछ। अधिकारी लगायत चितवनका किसानले उत्पादन गरेको अर्गानिक तरकारी जर्मनी पठाउन लागिएको हो।

जिल्ला प्रांगारिक संघ, चितवनका अध्यक्ष समेत रहेका अधिकारी आफू लगायत चितवनका १५ जना किसानले १७ बिघामा लगाएको १५० टन गाजर र ६० टन चुकन्दर जर्मनी निर्यात गरिएको बताउँछन्। द अर्गानिक भ्याली प्रालि, काठमाडौंले उनीहरूबाट तरकारी खरीद गरी जर्मनी पठाउन लागेको हो।

स्वाद र स्वस्थताको परीक्षण गर्न अघिल्लो वर्ष २०० केजी गाजर र चुकन्दर जर्मनी पठाइएको थियो। “अघिल्लो वर्ष चखाउन पठाइएको थियो, यस वर्ष अर्डर नै आयो,” अधिकारी भन्छन्।

गत मंसीर पहिलो साता लगाएका गाजर र चुकन्दर गत चैत अन्तिम साता खानयोग्य भएका थिए। सामान्य तरकारीभन्दा अर्गानिक तरकारीले विशेष मूल्य पाएको बताउँदै अधिकारी भन्छन्, “अहिले गाजर २० रुपैयाँ र चुकन्दर ५० रुपैयाँ प्रतिकिलोले बिक्री गर्‍यौं। सामान्यभन्दा अर्गानिक गाजर र चुकन्दरको मूल्य १० देखि १५ रुपैयाँ फरक छ।”

द अर्गानिक भ्यालीका कृषि अधिकृत सिजन पाण्डेका अनुसार अन्य तरकारी जर्मनी पठाउने गरिएको भए पनि चितवनका गाजर र चुकन्दर पहिलो पटक निर्यात गर्न लागिएको हो। अघिल्लो वर्ष यी दुई तरकारी नमूना जाँचका लागि पठाइएका थिए। नमूना पठाइएको तरकारीको राम्रो प्रतिक्रिया आएको र अहिले जर्मनीबाट माग भएको पाण्डे बताउँछन्।

२०४५ सालमै दिगो कृषि संस्थान नेपाल संस्थाबाट प्रांगारिक कृषि तालीम र २०४९ सालमा भकारो सुधार कार्यक्रममा सहभागी भएर ‘अर्गानिक’ कृषि गर्दै आएका अधिकारी भने नेपालमा नै यी तरकारीको खपत नहुँदा निराश पनि छन्। उनी भन्छन्, “स्वस्थकर तरकारी स्वदेशमै खानु राम्रो हो। तर यो २१० टन गाजर र चुकन्दर नेपाली बजारमा खपत भएको भए स्थानीय किसानले जर्मनीको जस्तो राम्रो दाम पाउने थिएनन्।”

जर्मनीबाट अर्को वर्ष थप माग आउने आशा रहेको उनी सुनाउँछन्। थप माग आए किसानलाई पनि प्रोत्साहन मिल्ने उनको भनाइ छ। अधिकारी भन्छन्, “अर्को वर्ष अहिलेभन्दा दोब्बर अर्डर आएमा अर्गानिक खेती गर्नेलाई प्रोत्साहन मिल्नेछ।”

चितवनबाट ल्याएको गाजर र चुकन्दर अहिले द अर्गानिक भ्यालीको प्रशोधन केन्द्र, सुर्खेतमा प्याकेजिङ भइरहेको छ। “चन्द्रप्रसाद अधिकारी लगायतको प्रांगारिक खेती प्रमाणित पनि भएकाले लिएका हौं,” भ्यालीका कृषि अधिकृत पाण्डे भन्छन् “जर्मनी पुगेपछि पनि राम्रो प्रतिक्रिया आउने आशा छ।”
himalkhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार