भारतीय कामदारको भरमा नेपालका उद्योग

0
SHARES
23
VIEWS

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापाका उद्योगी व्यवसायीहरूको संस्थागत विकासका लागि उद्योगीहरू तथा उद्योग वाणिज्य संघ र वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि सहभागी गराएर अभिमुखीकरण सम्पन्न गरेको छ ।

महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा शुक्रबार आयोजित अभिमुखीकरणमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासबारे जानकारी गराइएको जनाइएको छ ।

उपाध्यक्ष पोखरेलले उद्योग प्रतिष्ठानहरूमा कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताए । उनले श्रम बजार सम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको धारणा राखे ।

नेपाल भेनियर उत्पादक संघका अध्यक्ष एवं मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतीय कामदार रहेको बताए । उनले कार्यरत १० प्रतिशत नेपाली कामदार पनि वैदेशिक रोजगारको पर्खाईमा रहेका कारण स्वदेशी कामदारको अभाव हुने गरेको बताए ।

झापा उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यम बहादुर श्रेष्ठले चिया तथा चामल उद्योगहरूमा दक्षता भएका श्रम शक्तिको अभाव रहको बताए ।

समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उनले सफ्टवेयरमा रोजगारदातालाई जोड्ने प्रयास जारी रहेको जानकारी दिँदै महासंघको पहलमा निर्माण हुने उक्त प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने र विद्यमान श्रम जनशक्तिको माग र आपूर्तिको समस्याको समाधान हुने विश्वास व्यक्त गरे । उनले उद्योग प्रतिष्ठानहरूले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्नेमा समेत जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थितिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरूले प्रगति गर्न नसक्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिको आवश्यकता रहेको बताउँदै उद्योगहरूको अवस्था वर्गीकरण सोही अनुसार गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।

हल्दीबारी इँटा उद्योगकी सञ्चालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतीय कामदार रहेको बताइन् । उनले नेपाली कामदारहरूको कार्यक्षमता कम हुने गरेका कारण इँटा उद्योगको उत्पादकत्व तुलनात्मक रुपमा पनि भारतीय कामदारबाट धेरै हुने गरेको बताइन् ।

हियान फुड इण्डिष्ट्रजकी सञ्चालिका शर्मिला अधिकारीले दक्ष कामदारका लागि भारतीय कामदारहरूमा भरपर्नु परेको भन्दै चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा झापाका दर्जनौं उद्योग प्रतिष्ठान सम्वद्ध प्रतिनिधिहरू, उद्योगी व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै श्रम बजारको प्लेटफर्ममा जोडिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका थिए ।udghosbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार