नेपाल चिया विकास निगम लिमिटेड झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिलोटियासहित तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर रानाको आपसी मिलेमतोमा भ्रष्टाचार भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

नेपाल चिया विकास निगम बिर्तामोड, झापाबाट आर्थिक वर्ष २०६९/७० देखि २०७२/०७३ सम्मको विद्युत महसुल तिर्दा विद्युत प्राधिकरणबाट जारी वास्तविक बिल रकम जम्मा एक करोड ९३ लाख ६५ हजार ६५१ रुपियाँ भुक्तानी गर्नुपर्नेमा वास्तविक भए गरेको भन्दा बढीको नक्कली बिल भरपाई पेश गरी दुई करोड ३३ लाख ५५ हजार ३२९ रुपियाँ रकम भुक्तानी लिएको तथा लिन लगाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

जसबाट चिया विकासबाट ३९ लाख ८९ हजार ६७७ रुपियाँ बढी भुक्तानी लिई, लिन लगाई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिमको कसुर देखिएको आयोगले जनाएको छ । सो रकममध्ये सात लाख ३७ हजार ३०८ रुपैयाँ असुल भइसकेको देखिएकाले सो रकम घटाई ३२ लाख ५२ हजार ३६८ रुपैयाँ असुल हुने मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।nayapagebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *