बिमा कम्पनीको नाफा चार अर्ब ९१ करोड-निर्जीवन बिमा कम्पनीको पाँच अर्ब ६५ करोड

0
SHARES
8
VIEWS

मन्दीमा पनि ४९ प्रतिशत बढ्यो बिमा कम्पनीको नाफा
व्यवसाय कम भएपछि कम्पनीले प्रोभिजनिङ गर्नुपर्ने रकम घटेको छ, त्यसले नाफा बढाउन सहयोग पुग्यो
सेयर तथा सम्पत्ति बिक्रीले पनि बढायो निर्जीवन बिमा कम्पनीहरूको नाफा
महिनामा जीवन बिमा कम्पनीको नाफा चार अर्ब ९१ करोड ८६ लाख
निर्जीवन बिमा कम्पनीको नौ महिनामा पाँच अर्ब ६५ करोड १३ लाख खुद नाफा
चालू आर्थिक वर्ष ०८/८१ को नौ महिना ठूला जीवन र निर्जीवन बिमा कम्पनीको खुद नाफा ४९.३० प्रतिशतले बढेको छ । हाल नेपालमा १४–१४ वटा जीवन र निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा कम्पनीहरूले १० अर्ब ५७ करोड खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको भन्दा तीन अर्ब ४९ करोड बढी हो । गत आवको नौ महिनामा बिमा कम्पनीहरूले सात अर्ब सात करोड ९२ लाख नाफा कमाएका थिए ।

व्यवसायमा आएको शिथिलताका बाबजुत पनि बिमा कम्पनीहरूको नाफा बढेको छ । व्यवसाय कम भएपछि कम्पनीहरूले गर्नुपर्ने जोखिम प्रोभिजनिङ पनि कम भएको छ । त्यसले नाफा बढाउन सहयोग पुगेको कम्पनीहरू बताउँछन् । अहिले व्यवसायमा शिथिलताकै कारण नाफामा उच्च वृद्धि भएको नेको इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक खड्का बताउँछन् । निर्जीवन बिमा कम्पनीहरूले आफूले गरेको व्यवसाय (जोखिम)बापत निश्चित रकम प्रोभिजनिङ गर्नुपर्छ । जुन प्रोभिजनिङ रकम बिमा अवधि सकिएपछि फुकुवा हुन्छ र नाफा–नोक्सान खातामा सार्न सकिन्छ ।

गत आवहरूमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय उच्च थियो । त्यसअनुसार त्यसवेला जोखिमबापत गर्नुपर्ने प्रोभिजनिङ रकम बढी थियो । त्यसवेलाको बिमा पोलिसीको अवधि सकिएसँगै प्रोभिजनिङमा राखेको रकम फुकुवा भएर चालू आवको नाफा–नोक्सान खातामा सरेको छ । तर, यो वर्ष व्यवसाय नभएपछि बिमा कम्पनीहरूले प्रोभिजनिङ गर्नुपर्ने रकम घटेको छ । त्यसले गर्दा यो वर्ष नाफा उच्चदरमा बढेको सिइओ खड्का बताउँछन् ।

निर्जीवनको नाफा ५५% वृद्धि
नेपालमा सञ्चालित १४ निर्जीवन कम्पनीहरूले नौ महिनामा पाँच अर्ब ६५ करोड १३ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बिमा कम्पनीहरूले तीन अर्ब ६४ करोड ४६ लाख खुद नाफा कमाएका थिए । गत आवको नौ महिनामा ३० अर्ब एक करोड ४८ लाख बिमाशुल्क संकलन गरेका कम्पनीहरूले अहिले २९ अर्ब ९९ करोड ७६ लाख मात्रै संकलन गरेका छन् ।

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबैभन्दा धैरे खुद नाफा ६१ करोड ४४ लाख २७ हजार रहेको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा १०१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । पुँजी बढाउन कम्पनीले यो वर्ष आफ्नो सम्पत्ति बिक्री गरेको छ । दोस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले ६० करोड ६५ लाख ४८ हजार नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६२.९ प्रतिशतले बढी हो । यो हिमालन जनरल र एभरेस्ट इन्स्योरेन्स भएर बनेको कम्पनी हो ।

जीवन बिमाको नाफामा ४३.२०% वृद्धि
समीक्षा अवधिमा जीवन बिमा कम्पनीको मात्रै ४३.२० प्रतिशतले नाफा बढेको छ । गत आवको समीक्षा अवधिमा जीवन बिमा कम्पनीको नाफा तीन अर्ब ४३ करोड ४६ लाख रुपैयाँ थियो । अहिले त्यो बढेर चार अर्ब ९१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । जीवन बिमा कम्पनीको यो नाफा बिमांकीय मूल्यांकनअघिको हो । जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकन गर्दा बिमा कोषको १० प्रतिशतसम्म नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ ।

प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूको व्यवसाय (बिमाशुल्क संकलन) ५.१० प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा एक खर्ब चार अर्ब ७३ करोड बिमाशुल्क संकलन गरेको जीवन बिमा कम्पनीहरूले यो वर्ष एक खर्ब १० अर्ब आठ करोड संकलन गरेका छन् । व्यवसाय सामान्य मात्रामा बढ्दा पनि नाफामा भने उच्च वृद्धि देखिएको हो ।

जीवन बिमा कम्पनीतर्फ एसियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६९ करोड ११ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ४७ लाख नाफा कमाएको थियो । दोस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड तीन लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख खुद नाफा कमाएको थियो ।

व्यवसाय घट्दा पनि किन बढ्यो नाफा ?
यसपालि अधिकांश बिमा कम्पनीहरूले जग्गा–जमिनजस्ता भौतिक सम्पत्ति, विभिन्न सार्वजनिक कम्पनीको सेयरलगायत सम्पत्ति बिक्री गरेका छन् । प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बिमा कम्पनीहरूले दुई अर्ब ५० करोड न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्नेछ । पहिला यस्तो सीमा एक अर्ब थियो । अहिले पुँजी बढाउन दबाब भएपछि नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इस्योरेनसलगायत कम्पनीले सेयर, घरजग्गाजस्ता सम्पत्ति बिक्री गरेका छन् । त्यसले कम्पनीहरूको नाफा बढेको जानकारवाला बताउँछन् ।

यसैगरी, पुँजी बढाउने नाममा १२ कम्पनी मर्जर प्रक्रियामा सहभागी भएर ६ वटामा कायम भएका छन् । यसअघि २० वटा रहेको निर्जीवन बिमा कम्पनीको संख्या मर्जरका कारण १४ वटा कायम भएको छ । मर्ज भएसँगै कम्पनीहरूको खर्च कटौती भएर नाफा बढाउन सहयोग पुगेको कम्पनीहरू बताउँछन् । nayapatrikabata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार