समाजबादीको अध्यक्ष र महासचिवमा खनाल र भुसाल दर्विलो बन्दै— नेपाल र खतिवडा पछारिने सकेंत

0
SHARES
48
VIEWS

एकीकृत समाजवादीमा भावी नेतृत्वको रस्साकस्सी
हाम्रो प्रयास सहमतिमै नेतृत्व चयन गर्ने हुन्छ । यदि सहमति जुट्न सकेन भने स्वच्छ प्रतिस्पर्धाको विकल्प बाँकी नै रहन्छ : घनेन्द्र बस्नेत, उपाध्यक्ष, एकीकृत समाजवादी

एकीकृत समाजवादीमा महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले नेतृत्व दाबी गर्न थालेका छन् । भावी पदाधिकारीका लागि नेताहरूले लबिङ गरिरहेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, दोस्रो वरीयताका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको चर्चा छ ।

नेपाल र खनालले अध्यक्षमा दाबी गरिरहँदा नेतृत्व हस्तान्तरणको माग गर्ने नेता तथा कार्यकर्ताले भुसाललाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन् । नेपाल र खनालले सहमतिमा अध्यक्ष चयन गर्ने बताएका छन् । तर, दुवैले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । दुवैले कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । भुसाल पनि माहोल बुझिरहेको एक पदाधिकारीले बताए ।

उपाध्यक्ष घनेन्द्र बस्नेत सहमतिमै नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयास गर्ने बताउँछन् । ‘हाम्रो प्रयास सहमतिमै नेतृत्व चयन गर्ने हुन्छ । यदि सहमति जुट्न सकेन भने स्वच्छ प्रतिस्पर्धाको विकल्प बाँकी नै रहन्छ,’ उनले भने । नेपाल र खनाल पछि नहट्ने गरी भावी अध्यक्षको तयारीमा रहेको नेताहरू बताउँछन् । ‘नेपाल नेतृत्वमा नवीकरण हुन चाहनुहुन्छ, कठिन अवस्थामा नेतृत्व गरेकाले एकपटक फेरि नेतृत्वमा कायम रहने उहाँको तयारी छ,’ एक पदाधिकारीले भने, ‘खनाल पनि अध्यक्ष बन्ने लाइनमा अघि बढिसक्नुभएको छ । जसको नीति उसैको नेतृत्व भन्ने लाइनमा खनाल हुनुहुन्छ । त्यसैले दुवै नेता ब्याक हुने सम्भावना देखिन्न ।’

एकीकृत समाजवादीमा नयाँ पुस्ताबाट नेतृत्व चयन गर्नुपर्ने माग पनि जबर्जस्त रूपमा उठिरहेको छ । नेपाल र खनालले दाबी नछोड्ने अवस्थामा तेस्रो विकल्पमा पनि सहमतिको प्रयास गरिने उनले बताए । ‘अध्यक्ष र सम्मानित नेतामध्ये एकजना अध्यक्ष र अर्को वरिष्ठ नेता रहने गरी मिल्न पनि सक्छ । दुवै नेता झगडा गर्ने अवस्थामा विकल्पमा पनि आउन सक्छ,’ बस्नेतले भने ।

नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेता तथा कार्यकर्ताले महासचिव भुसाललाई अध्यक्षको तयारी गर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताद्वय नेपाल र खनालको सरसल्लाहमा चल्ने गरी भुसाललाई अध्यक्ष बनाएर नेतृत्व हस्तान्तरण गर्दै राष्ट्रव्यापी सन्देश दिनुपर्ने आवाज पनि बाक्लो बन्दै गएको छ । तर, भुसाल हालसम्म मौन छन् । नेपाल नै अध्यक्षमा दोहोरिन चाहेकाले भुसाल पनि महासचिवमा दोहोरिने सम्भावना रहेको एक पदाधिकारीले दाबी गरे । उनका अनुसार अध्यक्षमा नेपाललाई खनालले र भुसाललाई जगन्नाथ खतिवडाले चुनौती दिने निश्चितप्रायः छ । उनीहरूले भित्रभित्रै तयारी गरिरहेका छन् । यद्यपि, औपचारिक रूपमा कसैले पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

भुसाललाई अघि सार्न खनाल तयार देखिए पनि नेपाल महाधिवेशनबाट सहमतिमा अध्यक्ष नवीकरण गर्न चाहन्छन् । त्यस्तो अवस्थामा भुसाल अध्यक्षको दाबेदार नबन्ने स्रोतको दाबी छ । केही नेताहरू भुसाललाई उपाध्यक्ष बनाएर ११औँ महाधिवेशनमा अध्यक्ष बनाउनुपर्ने पक्षमा समेत देखिएका छन् ।

नेपाल र खनाल अध्यक्षको प्रतिस्पर्धी बन्दा महासचिवमा नेपाल पक्षबाट उपमहासचिव जगन्नाथ खतिवडा र खनाल पक्षबाट भुसाल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको एक नेताले दाबी गरे । ‘सम्म ानित नेता र महासचिवको वैचारिक लाइन एउटै छ । समाजवादी कार्यक्रम तयार पार्न पनि उहाँहरूको योगदान छ । प्रतिस्पर्धा हुने अवस्थामा नेपाल र खतिवडा एकातिर, खनाल र भुसाल अर्कोतिर हुने निश्चित देखिन्छ,’ ती नेताले भने ।

वामपन्थी सहकार्यको पक्षमा खनाल र भुसाल
वर्तमान सत्तासमीकरणलाई हेर्ने दृष्टिकोणका साथै जबज, समाजवादी कार्यक्रमलगायत थुप्रै विषयमा खनाल र भुसालको समान विचार छ । उनीहरू वर्तमान समीकरणलाई बलियो बनाउँदै वामपन्थी सहकार्यको पक्षमा छन् । जबजको सान्दर्भिकता सकिएको र समाजवादी क्रान्तिमार्फत अघि बढ्नुपर्ने दुवै नेताको निष्कर्ष छ । तर, नेपाल र खतिवडा भने वामपन्थीको आवरणमा पार्टीलाई किनारा लगाउन खोज्ने सत्तासमीकरणमा घुँडा टेकेर बस्न नहुने पक्षमा छन् । जबजको सान्दर्भिकता नसकिएको निष्कर्ष नेपाल र खतिवडाको छ ।

एक पदाधिकारीका अनुसार नेपाल–खतिवडा र खनाल–भुसाल समीकरणको सम्भावना प्रबल बन्दै गएको छ । ‘सहमतिको प्रयास हुन्छ । तर, सहमति हुन सकेन भने निर्वाचन अधिकारकै विषय भयो,’ ती पदाधिकारीले भने, ‘निर्वाचनको स्थितिमा नेपालको टिमबाट महासचिवमा खतिवडा र खनालको टिमबाट महासचिवमा भुसाल हुने देखिन्छ ।’

महासचिवका आकांक्षी
एक नेताका अनुसार महासचिवमा भुसाल र खतिवडाका साथै उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. विजय पौडेल, गंगालाल तुलाधर र संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पनि आकांक्षा राखेका छन् । झन्डै तीन वर्षअघि स्थापना भएको एकीकृत समाजवादीले १६–२० असारमा काठमाडौंमा १०औँ महाधिवेशन गर्दै छ । ९ भदौ ०७८ मा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो । दल दर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, एकीकृत समाजवादीले तीन वर्षमै महाधिवेशन गर्दै छ । महाधिवेशनका लागि ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ नारा तय गरिएको छ । एमालेमा विद्रोह गरेर पार्टी पुनर्गठन गरेकाले १०औँ महाधिवेशन भनिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए । यसअघि पनि तत्कालीन मालेले प्रथम नभई चौथो महाधिवेशन गरेको र त्यही शक्ति स्थापित भएको उनले बताए ।

गुटगत भेला नगर्न निर्देशन
एकीकृत समाजवादीनिकट युवा संघका संयोजक कृष्णकुमार विकले गुटगत भेला नगर्न निर्देशन दिएका छन् । सहसंयोजक नितेश पौडेलले यही शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएपछि संयोजक विकले बिहीबार विशेष निर्देशन दिएका हुन् । उनले युवा संघ नेपालको नाम, झन्डा, ब्यानर दुरुपयोग गरी गुटगत भेला, बैठक गरेको पाइएमा जोकोहीलाई पनि संगठनको विधानबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएका छन् । विकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ दिएका छन् । संयोजक विश्वकर्मा खनाल पक्षका हुन् भने सहसंयोजक पौडेल नेपाल पक्षका हुन् । nayapatrika bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार