बंकरबाट उम्किएर बम र बारुदबाट भाग्दैभाग्दै बाँचेर देश फर्किंदाको खुसी 

0
SHARES
6
VIEWS

शुक्रबार बिहान साढे २ बजे द्वन्द्वग्रस्त इजरायलबाट नेपालीलाई उद्धार गरेर फर्किएको विमान अवतरण हुँदा विमानस्थलमा यात्रुको खुसी छचल्कियो, कतिको आँखाबाट पोखियो । बंकरबाट उम्किएर बम र बारुदबाट भाग्दैभाग्दै बाँचेर देश फर्किंदाको खुसी । भोक, प्यास र सन्त्रासबाट मुक्ति पाएर आफन्तका अँगालोमा बेरिँदाको खुसी ।

पढाइ र रोजगारीका लागि इजरायल पुगेका २ सय ५४ जनालाई हवाई उद्धार गरेर नागरिक स्वदेश फिर्ता ल्याएको छ । आधा रातमा विमानबाट ओर्लिएका उनीहरूलाई बाहिर आफन्त र सञ्चारकर्मीको भीडले स्वागत गरिरहेको थियो । शुक्रबार उद्धार गरेर नेपाल ल्याइएकामध्ये अधिकांश विद्यार्थी हुन्, त्यसमाथि पनि धेरैजसो एकदुई महिनाअघि मात्रै इजरायल पुगेका । देश छोडेर जानेबेला उतै भविष्य बनाउने सपना देखेका उनीहरू शुक्रबार देशकै गुणगान गाउँदै फर्किएका छन् ।

‘मिसाइल, बम र बारुदको आवाजले मन खाइसकेको थियो । डरको त कुरै नगरौं । तीन दिन बंकरमा बिताउँदा घरको, देशको धेरै याद आएको थियो, यति छिट्टै फेरि देश फर्कुंला भनेर सोचेकै थिएन,’ कालिकोटका धनकृष्ण आचार्यले भने, ‘सरकारले हामीलाई यति महत्त्व दिएर उद्धार गर्‍यो कि मनमनै लागिरहेको छ, सरकार त जिउँदै रहेछ ।’ उनी बसेको ठाउँ द्वन्द्वग्रस्त गाजाभन्दा निकै टाढा हो । तर मिसाइल र बमबारुद भने त्यहाँ पनि आइपुग्यो । उनीहरू हमासले आक्रमण गरेको तेस्रो दिनदेखि हताहतमा परे ।

‘हामी कृषि फार्ममा काम गर्थ्यौं, त्यो दिन खाना खाँदै गर्दा हाई अलर्ट भनेर मेसेज आयो, त्यसपछि भागाभाग मच्चियो,’ उनी भन्छन्, ‘दुई दिन कृषि फार्मकै बंकरमा लुक्यौं । त्यसपछि सेनाले हामीलाई सामुदायिक बंकरमा सार्‍यो । त्यहाँबाट बल्ल उद्धार भयौं ।’

कैलालीका धनबहादुर चौधरी भने प्रत्यक्ष रूपमै हमास आक्रमणमा परे, तर कसोकसो उम्किएर ज्यान जोगाउन सफल भए । उनीसँगै रहेका उनका साथीहरू केहीले ज्यान गुमाए, केही घाइते भएर अस्पतालमै उपचाररत छन् । चौधरी भने ग्रिनेड पड्किएर खुट्टामा लागेको गहिरो घाउ र कम्मरमुनि दर्जनौं गोलीका छर्राका चोटैचोट बोकेर घर फर्किएका छन् । विमानस्थलमा भेटिँदा उनको अनुहारमा बम र बारुद गाडिएको त्रासदीको डोब कायमै देखिन्थ्यो । पढ्ने र पैसा कमाउने सपना बोकेर सकुशल इजरायल पुगेका उनी ह्वीलचियरमा फर्किएका छन् । ‘त्यतिबेला त अब बाँचेर देश फर्किन पाउँछु जस्तो लागेको थिएन तर बाँचें,’ उनले भने । अनुहारमा खुसीको भाव त थिएन, तर उनले पनि बाँचेर फर्किन पाएकोमा खुसी लागेको बताए ।

कोहलपुरका दिनेश शर्मा बाहिर आउनेबित्तिकै दिदी मायाको अँगालोमा कसिए । उनका आँसु थामिएनन् । ‘गएको एक महिना १२ दिनमात्रै भयो । जाने बेला बरु रोएको थिइनँ,’ दिदीसँग बहकिएका उनले भने, ‘अहिले बाँचेर फर्किन पाएकामा खुसीले भावुक भएछु ।’ रामपुर क्याम्पसबाट कृषि विज्ञान पढ्न इजरायल पुगेकी सिरहाकी शोभा पासवानले धेरैलाई इजरायल जानुभन्दा अघि त्यहाँको यस्तो अवस्थाबारे थाहा नभएकामा गुनासो गर्दै उद्धार गर्ने सरकारलाई धन्यवाद दिइन् । ‘म त अहिले पनि ट्रमामै छु । तर जे भए पनि सुरक्षित भएर देशमा फर्किंदा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर खुसीजत्तिकै दुःख पनि छ, सँगै गएका साथीहरू गुमाएर आएका छौं ।’ इजरायलमा हमास आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै हराइरहेका छन् ।

शोभाले काम गरिरहेको कृषि नर्सरी र गाजाबीचको दूरी ६ किमि मात्रै छ । उनी जोगिएर आएको क्षेत्र आक्रमणको प्रत्यक्ष मारमा पर्‍यो । ‘अचानक बंकरमा बस्नुपर्ने अवस्था भयो । न खानेकुरा, न पिउनेपानी । बम पड्किरह्यो, मिसाइल खसिरह्यो,’ उनले भनिन्, ‘२४ घण्टासम्म बाहिर आउने अवस्था नै भएन, शौच गर्न जाँदासमेत ज्यान जाने त्रास भयो ।’ उनले काम गर्ने फार्ममा १८ जना थिए, दुई दिनसम्म उनीहरूले भोकभोकै नर्सरीकै बंकरमा बिताए । त्यसपछि उनीहरूलाई नयाँ ठाउँमा सुरक्षित गरियो । चौथो दिनपछि बल्ल दूतावासले उद्धार गर्‍यो ।

बझाङका सुरज बन्दीले पनि त्यस्तै अनुभव सुनाए । दुई महिनाअघि गएका उनी फरेस्ट्रीका विद्यार्थी हुन् । बन्दी भने आफूहरूलाई थाइल्यान्ड सरकारले जोगाएको बताउँछन् । ‘अहिले नेपाल सरकारले उद्धार गर्‍यो, तर म त थाइल्यान्ड सरकारले गर्दा बाँचेर आएँ, नभए त त्यही मरिसक्थें,’ उनले भने । उनी ४३ घण्टा बंकरमा थुनिएका थिए । केही नेपालीसहित थाइल्यान्डका कामदारहरू एउटा बंकरमा थुनिएका थिए । ‘नेपाल सरकार, दूतावासको अत्तोपत्तो थिएन, तर थाइल्यान्डले आफ्ना नागरिकको उद्धार गर्दा हामीलाई पनि सुरक्षित ठाउँ पुर्‍यायो,’ उनले भने, ‘त्यसपछि बल्ल हामीलाई दूतावासले उद्धार गर्‍यो ।’

इलामका डोबराज थापा पनि जीवन जोगाएर फर्किएकामा खुसी छन् । ‘जाने बेला त्यहाँका बारेमा यतिधेरै थाहै भएन । जे भए पनि जीवन जोगाएर आइयो, अब बाँचियो,’ उनले भने । सरकारले उद्धार र स्वदेश फिर्तीका लागि दूतावासमार्फत आवेदन माग गरेकामा ५ सय ५७ जनाले दूतावासमा सम्पर्क गरेका थिए । त्यसमध्ये ५ सय ३ जना स्वदेश फर्किन चाहन्थे ।

उनीहरूमध्ये २ सय ५४ जनालाई शुक्रबार उद्धार विमानमार्फत स्वदेश फर्काइएको परराष्ट्रमन्त्री एनपी साउदले बताए । आवेदन दिनेमध्ये सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका ५४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । ‘अब फेरि स्वदेश फर्किन चाहनेका लागि समेत सरकारले आवश्यक पहल गर्नेछ,’ उनले भने, ‘घाइतेहरूको उपचार र बेपत्ताको खोजी कार्यमा समेत सरकारले पहल जारी राख्नेछ ।’ekantipur bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार