सम्बन्ध साँच्चै सुध्रिएर एकतासम्मै पुग्छ कि फेरि कुरा बिग्रिन्छ?

0
SHARES
2
VIEWS

विनोद देवकोटा

राजनीतिको नाडी हामीले पनि छामेका छौं र छाम्दै यहाँसम्म आइपुगेका छौं,’ २०७९ चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए । सन्दर्भ थियो, पुस २६ र चैत ६ मा जस्तै प्रचण्डले फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्ने ?

‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन, भन्ने कुरा उठेको छ । यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन ५ वर्ष नै टिक्छ । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ,’ अध्यक्ष नेपालले भनेका थिए ।

राजनीतिको नाडी छाम्न सिपालु रहेको दाबी गर्ने ‘राजनीतिक वैद्य’ अध्यक्ष नेपाल २०८० फागुन २० र २१ मा घटेको घटनामा पूरै अनभिज्ञ रहे । कांग्रेससँग सहकार्य तोडेर एमालेसँग सहकार्यको सहमति ड्राफ्ट भएपछि मात्र माधव नेपालले त्यसको सुइँको पाए ।

आफूसँग सल्लाह नगरी गठबन्धन तोडेकोमा रुष्ट बनेका माधव नेपाललाई फकाउन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर बालकुमारीस्थित निवासमा पुगे । नेकपाकालमा ओलीविरुद्ध संघर्ष गर्न खडा भएको प्रचण्ड र नेपाल मोर्चा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलासम्म कायम रहेको थियो ।

तर, यसपटक आफूलाई संकेत नगरी गठबन्धन तोडेकोमा प्रचण्डसँग नेपाल फायर भएका थिए ।

बालकुमारीमा त्यस दिन के भएको थियो ?

एमाले, माओवादी, रास्वपा र जसपाबीच भएको ८ बुँदे सम्झौतामा हस्ताक्षर गरेर फागुन २१ गते प्रचण्ड नेपाललाई भेट्न गएका थिए । त्यसको भोलिपल्ट फेरि प्रचण्ड नेपाल निवास पुगे । सो दिन प्रचण्ड एक्लै गएनन्, एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगे, स्वास्थ्य लाभको कामना गर्न ।

पछिल्लो तीन वर्षयता तिक्ततापूर्ण सम्बन्ध बिर्सेर माधव नेपालको घरमा पुग्नु वामपन्थी राजनीतिक वृत्तमा असाधारण घटना हो । असार २८ को परमादेशका कारण बालुवाटारबाट बालकोट पुगेपछि ओलीले नेपालविरुद्ध निम्नस्तरको कमेन्ट गरेका थिए । अन्य नेतालाई क्षमा गरे पनि माधव नेपाललाई नहुने घोषणा ओलीको थियो ।

प्रतिनिधि सभामा १० सीट भएपनि संसद्को अंकगणितमा त्यो १० अंकको ठूलो महत्त्व छ । त्यसैले विगतको कटुता बिर्सेर ओली नेपालको घर पुगे, धेरै वर्षको अन्तरालमा । दुई घण्टा लामो वार्तामा भविष्यमा कसरी अगाडि बढ्ने भन्ने मार्गचित्र समेत बनेको सम्बद्ध स्रोतहरू बताउँछन् ।

माधव नेपालनिकट नेकपा एसका नेता सोमप्रसाद पाण्डे ‘आवश्यक परेको बेला जसले पनि नेतृत्व गर्ने’गरी तीन नेताबीच सहमति जुटेको बताउँछन् । नेकपा एसको अरू स्रोतचाहिँ प्रतिनिधि सभाको यही कार्यकालमा माधव नेपाललाई छोटो समय भएपनि प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गर्छन् ।

यद्यपि, पाण्डेले ठ्याक्कै पदमा भागबण्डा नभएको बताए । यसअघि कांग्रेस–माओवादीसहितको गठबन्धन बन्ने बेला माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केही साताअगाडि मात्र नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको खुलासा गरेका थिए ।

फागुन २१ गतेको गठबन्धनबाट शुरूमा असन्तुष्ट नेपाललाई पकाउन फागुन २३ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको निवासमा पुगे । सत्ता गुमेको पीडाबाट आक्रान्त देउवाले माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेर वैकल्पिक गठबन्धन बनाउन कोशिश गरे ।

फागुन २३ गते सचिवालय बैठकबाट माधव नेपालले ‘सरकारमा जान हतार पनि नगर्ने, ढिलो पनि नगर्ने’ आशयको निर्णय गराए । प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न आफ्नै नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएका नेपाल बालुवाटार पुगे ।

बालुवाटारमा ओली र प्रचण्डसँग वार्ता गरेर नेपालले नगदै दुई मन्त्री लिए, उधारो प्रधानमन्त्रीको वाचासहित । दिउँसोसम्म सरकारमा सहभागिताबारे ठोस निर्णय नगरेको नेकपा एस साँझ साढे ७ बजे सरकारमा सहभागी भयो ।

‘तीन नेताबीच माधव नेपालको व्यवस्थापन सम्बन्धमा कुनै न कुनै समझदारी भएको होला, नत्र त्यति छिट्टै कन्भिन्स नहुनुपर्ने हो,’ नेकपा माओवादी केन्द्रका एक नेताले लोकान्तरसँग भने ।

नयाँ बनेको गठबन्धनमा नेकपा एस समेत सहभागी भएपछि एमाले अध्यक्ष ओली र नेता नेपालबीच शनिवार एक्लाएक्लै छलफल भयो । सिंहदरबार गेटनजिकको बसेरा होटलमा भएको छलफलमा सम्बन्ध सुधार गरेर अगाडि बढ्ने कुराकानी भएको एमाले स्रोत बताउँछ ।

२०७८ भदौमा भएको पार्टी विभाजनको असर २०७९ मंसिरको चुनावमा एमालेले ब्यहोर्नुपर्‍यो । कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनको सामना गर्दा एमाले दोस्रो पार्टी बन्न पुग्यो । ‘पपुलर भोट’मा कांग्रेसभन्दा माथि रहे पनि सीट संख्या घट्यो । एमाले विभाजन नभएको भए गठबन्धनसँग चुनाव लड्दा पनि पहिलो दल बन्ने अवस्था रहेको एमालेको मूल्यांकन छ ।

विगतका तीतामीठा बिर्सेर एमाले र नेकपा एसका दोस्रो तहका नेताहरू पार्टी मिलाउनुपर्ने अभियानमा लागेका छन् । नेकपा एसभित्र झलनाथ खनाल, राजकुमारी झाँक्रीलगायत नेताहरू पार्टी एकताको पक्षमा छन् । मुकुन्द न्यौपाने, चूडामणि जंगली लगायतका नेता त एमाले फर्किसकेका छन् ।

अध्यक्ष ओली पनि माधव नेपालसहितका १० सांसदलाई ल्याउनेगरी पार्टी एकीकरण गरेर संसद्मा एमालेलाई पहिलो दल बनाउने योजनामा देखिन्छन् । प्रतिनिधि सभामा अहिले कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । माधव नेपालको १० र निकट भविष्यमा इलाममा हुन लागेको उपनिर्वाचनमार्फत १ सीट थप्दा कांग्रेसभन्दा ठूलो दल बन्न सकिने हिसाब एमाले नेताहरूको छ । आवश्यक पर्दा स्वतन्त्र रहेका योगेन्द्र मण्डललाई पनि पार्टीमा ल्याउन सकिने एमालेको विश्लेषण छ ।

तर, यसका लागि माधव नेपालले पनि आफ्नो व्यवस्थापनको सुनिश्चितता खोजेका छन् । गत वर्ष फागुनमा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले सक्रिय राजनीति गर्ने बताएका थिए । सक्रिय राजनीतिको भोक नमेटिएका कारण माधव नेपालले झण्डै ७० वर्षको उमेरमा पनि पार्टी विभाजनको जोखिम मोलेका थिए ।

नेकपा एसका नेता पाण्डेले पार्टी एकताबारे कुरा नभए पनि वामपन्थी एकता गरेर जाने सहमति भएको बताए । जे होस्, यो गठबन्धन ओली र नेपाल दुवैका लागि सम्बन्ध सुधारको आधार बनेको छ । सम्बन्ध साँच्चै सुध्रिएर एकतासम्मै पुग्छ कि फेरि कुरा बिग्रिन्छ, त्यो भने अहिले नै यकिन भइसकेको छैन ।lokantar bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार