अलैचीको भाउ आकासिएपछि किसान उदासीन

0
SHARES
22
VIEWS

झापाको बिर्तामोडमा मंगलबार प्रतिमन ८३ र पाँचथरमा ८२ हजार रुपैयाँमा कारोबार भएको छ ।

किसानले आफ्नो उत्पादन भदौदेखि माघ महिनाभित्रै बिक्री गरिसक्ने भएकाले फागुनदखि साउनलाई अफ सिजनका रूपमा लिने गर्छन् । यो बेला बढेको अलैंचीको मूल्यको लाभ किसानभन्दा व्यापारीले पाउँछन् ।

पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य यो वर्ष सुरुवाती सिजनदेखि नै बढ्दो थियो । यसअघि गत पुसमा प्रतिमन ८० हजार पुगेर घट्न थालेको मूल्य ७४ हजार रुपैयाँमा झरेर रोकिएकामा पुनः फागुन दोस्रो सातादेखि बढ्न थालेको अलैंची व्यवसायी महासंघले जनाएको छ ।

विशेषतः कोशीका पहाडी जिल्लामा उत्पादन हुने अलैंची आइतबार प्रतिमन फिदिममा ८२ र बिर्तामोडमा ८३ हजार रुपैयाँमा किनबेच भएको हो । बिर्तामोडमा उत्कृष्ट अलैंची प्रतिमन ८३ हजार, मध्यम ८२ हजार र सामान्य गुणस्तरको ८१ हजार रुपैयाँमा किनबेच भइरहेको फिदिमका व्यवसायी खेम अधिकारीले बताए । फिदिममा भने उकृष्ट ८२ हजार, मध्यम ८१ हजार र सामान्य गुणस्तरका अलैंची ८० हजार रुपैयाँमा किनबेच भइरहेको उनको भनाइ छ ।

यसवर्ष सिजनको सुरूमा अलैंचीको भाउ ५० हजार हाराहारी थियो । अहिले अलैंचीको ‘अफ सिजन’ हो । फागुनदेखि बढेको मूल्यको लाभ किसानले लिन पाउँदैनन् । अलैंचीको उत्पादन भदौ दोस्रो सातादेखि सुरू हुन्छ । भदौदेखि कात्तिकसम्म बगानबाट निकालिने अलैंची प्रायः किसानले माघ महिनाभित्रै बेचिसक्छन् । विगतका वर्षमा पनि फागुनदेखि मात्रै मूल्य बढ्थ्यो । ‘फागुन लागेपछि बढेको मूल्यको लाभ हामीले पाउँदैनौं,’ फालेलुङ–८ का किसान याम कुरुम्बाङले भने ।

अलैंची व्यवसायी भने यस्ता नगदे बालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने टिप्पणी गर्छन् । ‘भारत, बंगलादेशसहितका बजारमा माग बढे मूल्य वृद्धि हुने र माग घटे मूल्य पनि घट्ने हुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपालले भने, ‘पछिल्लो समय भारत सिक्किम र भुटानमा पर्याप्त मात्रामा ठूलो दाना भएको अलैंची उत्पादन हुन थालेकाले सिजनमा नेपाली अलैंचीले भाउ पाउँदैन ।’

पाँचथर ताप्लेजुङ, इलाम, संखुवासभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा अलैंची राम्रो उत्पादन हुन्छ । व्यवसायीहरूका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । ठूलो दाना, राम्ररी सुकेको र धूवाँ नलगाई सुकाएको अलैंचीलाई ‘क’ श्रेणीको मापदण्डमा राखिएको नेपालले जनाए ।

नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैंची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक पठाउँछ ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने भिरालो, खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुन भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर बोलाइन्छ । ‘किसानले उत्पादन गरेको अलैंची उनीहरूले मूल्य तोक्न पाउँदैनन्, व्यापारीले जति भन्यो त्यतिमै बिक्री गर्नुपर्छ,’ किसान महासंघ पाँचथरका पूर्वअध्यक्ष गणेश पोखरेल भन्छन्, ‘अलैंची जस्तै अदुवा र अम्रिसो जस्ता नगदे बालीको न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई सधैं मर्का परिरहेको छ ।’ मंसिर पहिलो साताभित्र किसानले बगानबाट टिपेर प्रशोधनसहित भण्डारणको काम सक्ने पाँचथरका अगुवा किसान वीरेन्द्र योङ्याको भनाइ छ ।

विश्वभर १७ हजार टन उत्पादन हुने अलैंची नेपालमा मात्र ७ हजार टन फल्ने गरेको कृषि विभागको तथ्यांक छ । नेपालबाहेक भारत, भुटान र इन्डोनेसिया जस्ता देशमा पनि अलैंची उत्पादन हुने गरेको पाइन्छ । यतिको परिणामा उत्पादन रहेको अलैंची भारतबाट भने इलमी, हिमाली र भारत ब्रान्डका नाममा बंगलादेश र पाकिस्तानसहित अन्य खाडी मुलुकतर्फ जाने गरेको पाइएको छ ।

आर्थिक वर्ष ०७९/८० मा झापाको काँकडभिट्टा नाकाबाट मात्रै २ लाख बोरा अलैंची भारत निर्यात भएको निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक छ । मसलाका परिकार, बिस्कुट–बेकरी, सुगन्धित तेल, टिन्चर, मदिरालगायत उत्पादन गर्न अलैंचीको प्रयोग हुन्छ । नेपालमा सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि बनाउने जडीबुटी कम्पनीले अलैंची प्रयोग गरेर रक्तशोधक, शक्तिवर्द्धक, दम र खोकीलगायतको औषधिमा अलैंची मिसाउने गर्छन् ।

पूर्वमा रामसाई, लसुने, साउनेलगायत ८ प्रजातिका अलैंची उत्पादन हुन्छ । समुद्री सतहबाट ७ सयदेखि २३ सय मिटरसम्मको उचाइ, ७ देखि २० डिग्री सेल्सियस तापक्रम र वार्षिक १५ सयदेखि ५ हजार मिलिमिटरसम्म वर्षा हुने पहाडी जिल्लाका पूर्व र उत्तरी मोहडा भएको जग्गामा अलैंची लगाइन्छ ।ekantipur BATA savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार