सुत्केरी, गर्भवतीलाई त्रिपालमा रात काट्न सकस …परालको ओछ्यान

0
SHARES
2
VIEWS

भूकम्पपीडित सुत्केरी र गर्भवतीलाई झन् सकस : बढ्दो चिसोमा त्रिपालको ओत, परालको ओछ्यान
रुकुम पश्चिम खालचौरकी तीनमहिने सुत्केरी विमला खड्का भन्छिन्– न्यानो कपडासमेत छैन, पालमुनि छोरी धेरै नै रुने, खोक्ने र उल्टी गर्न थालेकी छिन्

शरीरभरि माटो खस्दै थियो, छोरीलाई काखमा च्यापेर आँखा चिम्लेर निस्किएकी हुँ । धन्न ठूलो चोट लागेन, आमाछोरीको ज्यान बच्यो । भूकम्प गएदेखि पालमुनि बस्दै आएका छौँ । पालमुनिको रात निकै लामो लाग्छ । त्यसमाथि न्यानो कपडासमेत छैन । चिसोका कारण छोरीलाई रुघा लाग्न थालेको विमलाले बताइन् । छोरी धेरै नै रुने, खोक्ने र उल्टी गरिरहेकी छिन् ।

ad
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ खालचौरकी पार्वती चन्द मल्लको परिवार शुक्रबार मध्यरातिको विनाशकारी भूकम्पबाट जसोतसो बच्यो । ज्यान बचाउने संघर्षमा पार्वती र श्रीमान् टोपेन्द्रप्रकाश मल्लको टाउकोमा चोट लागेको छ । दुधे छोरालाई सकुशल जोगाए । ‘माथिबाट माटो, ढुंगा, काठ झरिरहेका थिए, तर छोरालाई छातीमा च्यापेर बचाएँ, मेरो टाउकोमाथि घरको ढुंगा खस्यो,’ पार्वतीले शुक्रबारको कहालीलाग्दो रात सम्झिइन् । उनको घर भने भत्किएको छ । जसोतसो ज्यान जोगाएका मल्ल परिवार घरछेउमा रहेको खाली ठाउँमा टनेल टाँगेर बसिरहेको छ । तीनजनाको मल्ल परिवारले ज्यान त जसोतसो जोगायो, तर घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा निकाल्न सकेका छैनन् । दुवैका मोबाइल पनि घरमै पुरिएका छन् । मल्लदम्पती घरिघरि घरभित्र पस्न तम्सिन्छन्, तर उनीहरूलाई आँट आउँदैन । सोमबार साँझ ४ बजेर ३१ मिनेटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएपछि झनै डराएका छन् । ‘घर त पूरै भत्किएको छैन । तर, कसैले घरभित्रबाट दालचामल, लत्ताकपडा, भाँडाकुँडा र मोबाइल खोजेर निकालिदिए ठूलो राहत हुन्थ्यो,’ पार्वतीले भनिन् ।’

पार्वतीको घरछेउमा खिमा चन्द मल्लको घर छ । उनको परिवारको हालत पनि उस्तै छ । मध्यरातिको भूकम्पबाट जसोतसो ज्यान जोगाए पनि घरभित्र रहेका कुनै पनि सरसामान निकाल्न नपाएको खिमाले बताइन् । भूकम्पको डरले घरभित्र छिर्ने आँटै नआएको उनले बताइन् । ‘ज्यान त जोगियो, अन्नपात र लत्ताकपडा जेसुकै होस् भनेर निकाल्ने आँट गरेका छैनौँ,’ उनले भनिन्, ‘तर, राहतमा मिलेको अन्न सकिन लागिसक्यो, लगाएका कपडा पनि फोहोर भइसके । यसरी त कसरी चल्ला र खै ।’

पार्वती र खिमा मात्र होइन, सानीभेरी–४ का अधिकांश भूकम्पपीडितको पीडा यस्तै छ । टाढाबाट हेर्दा घर सग्लोजस्तै देखिन्छन्, ढलेका छैनन् । तर, नजिक गयो भने धेरैजसो घर सग्ला छैनन् । कुनै न कुनै भाग भत्किएको छ । कतिपय घर त बाहिरबाट हेर्दा ठीकठाक देखिन्छन्, तर भित्र पस्दा मात्र थाहा हुन्छ, घर त ढल्नै लागेको रहेछ । ‘टाढाबाट हेर्दा केही भएको छैन जस्तो लाग्छ तर हामी घर न घाटका भएका छौँ,’ खालचौरका बासमती कामीले भनिन्, ‘हाम्रा घर त न ढल्न सके न सग्ला छन् ।’ सबै घर गल्र्याम्म नढलेका कारण झट्ट हेर्दा धेरै क्षति नभएकोजस्तो देखिँदा आफूहरूलाई राहतमा उपेक्षा गरिएको त्यहाँका भूकम्पपीडितको गुनासो छ ।

कोही बस्दैनन् घरमा
खालचौरमा एक सय १५ घर छन् । तर, भूकम्पपछि सबैले घर छाडेका छन् । सबैले घरबाहिर पाल टाँगेका छन् । कोही एकल रूपमा पालमा बस्छन् भने धेरैजसो २–३ घरपरिवार मिलेर बसिरहेका छन् । पर्याप्त ठाउँ नहुँदा एकैठाउँमा पाल टाँगेर बसिरहेको स्थानीय बादल चन्दले बताए । उनको परिवार पर्शुराम चन्द्र र अर्जुन विकको परिवारसँगै एउटै पालमुनि बसिरहेको छ । पार्वती र खिमाको परिवार एउटा पालमा बस्छ । गाउँमा यसरी नै मिलेर बसिरहेका छन् । दिनभरि कोहीले घरमा पुरिएका सामानको खोजीको प्रयास गर्छन् भने कोही अन्य काममा व्यस्त हुन्छन् । रात सुरु भएपछि घरबाहिरै आकाशमुनि खाना पकाउँछन्, पालमा सुत्छन् । धेरैका भान्सा खेतबारीमा छन् । घरमा जोखिम रहेकाले लगभग सबै वडावासी घरबाहिरै रहेको वडाध्यक्ष मनोज बिसीले जानकारी दिए । ‘सबैको अवस्था यस्तै हो, हाम्रो वडामा साढे ६ सय बढी परिवार छन्, लगभग सबै घरबाहिरै छन्,’ उनले भने ।

यो वडाका मेघा, खालचौर, स्यानाखाली, खड्का टोल, खत्रीटोल, मल्लटोल, दलितटोल, खिरखिरे बस्ती, गारछाला, लामाचौर, काउलेचौर, सुगेखोला, पुरानागाउँ, बलिवाङ, चोरपानी, गोलचौर, पाखापानी, गाउँबारी, टुरा, राम्री र चाख्लिमेला बस्तीमा भूकम्पले क्षति गरेको छ ।

सुत्केरी, गर्भवतीलाई त्रिपालमा रात काट्न सकस
खालचौरकी विमला खड्का तीनमहिने सुत्केरी हुन् । घरमा एक्लै बस्दै आएकी विमलाले शुक्रबार राति आफूसहित तीनमहिने छोरीको ज्यान मुस्किलले जोगाइन् । ‘शरीरभरि माटो खस्दै थियो, छोरीलाई काखमा च्यापेर आँखा चिम्लेर निस्किएकी हुँ,’ उनले भनिन्, ‘धन्न ठूलो चोट लागेन, आमाछोरीको ज्यान बच्यो ।’ घर ठाउँठाउँमा भत्किएको छ । अहिले उनी घर तलपट्टिको खाली बारीमा पाल टाँगेर बसेकी छिन् । उनलाई सघाउन बहिनी आइपुगेकी छिन् । श्रीमान् रोजगारीका लागि भारतमा छन् । राहतस्वरूप पाएको त्रिपाल छिमेकीले टाँगेर बस्न मिल्ने बनाइदिएका छन् ।

तीन महिनाकी सुत्केरी विमलालाई पालमुनिको रात निकै लामो लाग्छ । एक त पालमुनिको असुरक्षित वास, त्यसमा पनि तीन महिनाकी छोरी साथमा । चिसोका कारण छोरीलाई रुघा लाग्न थालेको विमलाले बताइन् । छोरी धेरै नै रुने, खोक्ने र उल्टी गरिरहेको उनले सुनाइन् । न्यानो कपडासमेत नभएको उनले बताइन् ।

यहाँका गर्भवतीलाई समेत समस्या भइरहेको छ । चिसोमा रात काट्न निकै समस्या भएको आठबिसकोट नगरपालिका– १४ की गर्भवती कमला विकले बताइन् । ‘दिनमा त खासै समस्या हुन्न, तर राति निकै समस्या हुने गरेको छ,’ उनले भनिन्, ‘बिहान शीत चुहिएर ओछ्यान निथ्रुक्क भिज्छ ।’nayapatrika bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार