दुध किसानको २५ करोड रुपैयाँ भुक्तानी तिर्न प्रदेश सरकारको तयारी

0
SHARES
8
VIEWS

विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिना देखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएको र पछिल्लो समय दूध नै खरिद गर्न छाडेकाले किसान दोहोरो मारमा परेको पाइएको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा आज आयोजित दूध उत्पादक किसानसँगको अन्तरक्रियामा यस्तो तथ्य सार्वजनिक भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी हुन गएका इलामका दूध उत्पादक किसान भूपेन्द्र गड्तौलाले विराटनगर दूध वितरण आयोजनाले दूधको भुक्तानी नदिँदा गाईबस्तुलाई खुवाउने दाना, छोराछोरीको पठनपाठनका साथै घर व्यवहार चलाउनसमेत समस्या भएको गुनासो गरे ।

‘गत असार महिनादेखि विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरुलाई दूधको भूक्तानी दिएको छैन’ उनले भने, ‘आयोजनाले एकातिर दूधको भुक्तानी दिइरहेको छैन भने अर्कोतिर दूध किन्न पनि छाडिसकेकाले किसान दाहोरो मारमा परेका छन् ।’

अर्का किसान भरत तिम्सिनाले विराटनगर दुग्ध वितरण आयोजनाले इलामका किसानसँग यसअघि ६/७ हजार लिटर दूध दैनिक खरिद गर्दै आएकोमा अहिले ६/७ सय लिटर पनि खरिद नगरिदिएको गुनासो पोखे ।

‘ऋण लिएर गाईबस्तु खरिद गरेर दूध उत्पादन गर्दै आएको किसानको दूध बिक्री नहुँदा टाट पल्टिने अवस्थामा पुगेका छन्’ उनले भने, ‘यसअघि बिक्री गरेको दूधको भूक्तानी पनि नपाउनु र अर्कोतिर उत्पादित दूध नबिकेर गाईबस्तुका लागि दाना किन्न नसक्नुका साथै ऋणको किस्ता तिर्न निकै सकस परेको छ ।’

उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले किसानबाट संकलित दूधबाट उत्पादित दुग्धजन्य पदार्थको बजारीकरणको अभावमा त्यसै थन्किएर राख्नुपरेकाले किसानलाई भूक्तानी दिन कठिनाई भएको प्रष्ट पारेका थिए ।

उत्पादित दुग्धजन्य पदार्थ भण्डारण गरेर लामो समय राख्दा लागत मूल्यमा वृद्धि भइरहेको उनले गुनासो पोखे । दुग्धजन्य पदार्थलाई निश्चित तापक्रममा राख्दा विद्युत खपत बढी हुने गरेको उनको भनाई छ ।

विगत ६ महिनादेखि संस्थानले किसानको २५ करोड रुपैयाँ भुक्तानी तिर्न नसकिरहेको स्वीकार गर्दै आयोजना प्रमुख चौधरीले भने, ‘किसानलाई भुक्तानी दिनका लागि केन्द्र सरकारसँग ऋण लिन पहल भइरहेको छ र ऋण प्राप्त हुने बित्तिकै किसानलाई भूक्तानी गर्नेछु ।’

आयोजना प्रमुख चौधरीले घ्यू र धुलो दूध निर्यातमा प्रदेश सरकारले सहजीकरण गरिदिए दुग्ध वितरण आयोजना ऋणको भारबाट मुक्त हुने पनि अपेक्षा सुनाए ।

सो अन्तरक्रियामा सहभागी कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले दूध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि प्रदेश सरकारले ४ करोड रुपैयाँ अनुदान दिने बताए ।

निजी डेरी सञ्चालकहरुले बंगलादेश, जापान लगायत देशमा दुधजन्य पदार्थ निर्यातका लागि प्रयास गरिरहेकाले प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको प्रवक्ता राईको भनाई छ । प्रदेश सरकारका प्रवक्ता राईले कोसी प्रदेशमा दूध उत्पादक किसानहरुले भोग्दै आएको समस्या समाधानका लागि सरकारले अनुदान दिने तयारी थालेको बताएका हुन् ।

‘यस प्रदेशमा रहेको विराटनगर दुग्ध वितरण आयोजना लगायतका निजी डेरीहरुले उत्पादन गरेको दुधजन्य पदार्थ बिक्री नहुँदा किसानको भुक्तानी दिन सकेको छैन,’ उनले भने, ‘त्यसैले यस प्रदेशमा भण्डारण गरिएको दुधजन्य पदार्थ निर्यातका लागि प्रदेश सरकारले अनुदान दिने तयारी गरेको हो ।’

चालु आर्थिक वर्षको बजेटमा दुधजन्य पदार्थ घ्यू र धुलो दूध निर्यातमा अनुदान दिने व्यवस्था गरिएको छ । उक्त बजेट वितरणका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगैको मन्त्री राईले बताए ।

यस्तै उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले यहाँ भण्डारण रहेका दुग्धजन्य पदार्थ तेस्रो मुलुक निर्यात गर्नका लागि प्रदेश सरकारले दिने अनुदानका लागि कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।

उनले कार्यविधि मन्त्रिपरिषद्बाट तत्काल पारित गराएर अनुदान वितरण प्रक्रिया सुरु गर्नुका सार्थै दूध उत्पादक किसानका साथै व्यवसायीको समेत समस्या समाधानमा मन्त्रालय लागिपरेको बताए ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार