घटनास्थल रगताम्य… हात्ती रन्थनिएर घस्रिदै ढलेजस्तो …कोसी टप्पुको टोली घटनास्थलमा

0
SHARES
33
VIEWS

मोरङमा सोमबार बिहान जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको हो।

सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ। घटनाको प्रकृति हेर्दा गोली हानेर मारेजस्तो देखिने सब डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए। माझी नेतृत्वको टोली अहिले घटनास्थलमा छ।

हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८:५० बजेतिर प्रहरी र वन कर्मचारीलाई गराएका थिए। त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ। थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ जाँदै छ। हाललाई घटनास्थल सुरक्षित राखिएको माझीले बताए।

‘गोली हानेर हात्तीलाई मारेजस्तो देखिन्छ। पुच्छर पनि छैन। मारेपछि पुच्छर काटेर लगेको हुनसक्छ,’उनले भने, ‘देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ। भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्छ।’माझीका अनुसार बिहान ४:३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले गराएका छन्।

घटनास्थलनजिकै सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन्। नर्सरीभित्रसमेत रगत लतपतिएको छ। गोली लागेपछि घस्रिदैं र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए। उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटरजति टाढा छ।

‘नर्सरीबाट हात्ती रन्थनिएर लगभग सय मिटरजतिको दूरीसम्म घस्रिदै पुगेर बाटोमा ढलेजस्तो देखिन्छ,’उनले भने, ‘स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट हुन्छ।’ माझीका अनुसार चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंका छ। मारेपछि पुच्छर काटेर लगेको उनले बताए। प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिए।

उनका अनुसार लगभग १२ देखि १५ वर्षसम्मको देखिने भाले हात्ती मृत फेला परेको हो। कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए। उनका अनुसार घटनास्थल रगताम्य छ। गोली लागेपछि हात्तीले रगत बान्ता गरेजस्तो देखिने उनको भनाइ छ। उनका अनुसार वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतैरगत छ।

भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा उपद्रो मच्चाइरहेको छ। सबैभन्दा धेरै झापा र मोरङमा क्षति गरिरहेको हो। हात्तीको आक्रमणबाट साउनयता झापामा ५, मोरङ र सुनसरीमा १र१ गरेर ७ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिन्छ। उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको बताइएको छ। हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको हो। कोशीका तराईका जिल्लामा गत मंसिर पहिलो साताबाट हात्तीको वितण्डा बढेको छ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार