हात्तीबाट जनधनको क्षति कम गर्न बाहुनडाँगीको अभ्यास फैलाउनुपर्छ देशैभरि 

0
SHARES
11
VIEWS

झापाको बाहुनडाँगीका बासिन्दाले अपनाएका उपाय पछ्याउन सकियो भने जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति कम गर्न सकिन्छ।

हात्तीले दुःख दिने ठाउँको नाम लिंदा पहिलो नम्बरमा आउँथ्यो, बाहुनडाँगी। साँझ वा राति मात्र होइन, दिउँसै जंगली हात्ती आउँथे। घर भत्काइदिन्थे। बाली नोक्सान गर्थे। हात्ती धपाउन जाँदा आक्रमणमा पर्थे, घाइते हुन्थे। कतिले त ज्यान गुमाए।

झापाको बाहुनडाँगी पुग्ने संरक्षणकर्मीले हात्ती जोगाउने कुरा गर्दा स्थानीय बासिन्दा सहन सक्दैनथे। ‘दुःख दिने हात्तीलाई किन जोगाउने? यिनलाई त मार्ने हो,’ स्थानीय बासिन्दा आक्रोश पोख्थे।

यो बाहुनडाँगीको १७ वर्षअघिको कथा हो। अहिले बाहुनडाँगी फेरिएको छ। मानव-हात्ती सहअस्तित्वको उदाहरणीय गाउँ बनेको छ। “२०७५ सालयता बाहुनडाँगीमा छिरेका हात्तीका कारण एक जना पनि घाइते भएका छैनन्,” मेची नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्की भन्छन्।

दशकअघि मानव-हात्ती सहअस्तित्वको वकालत गर्ने अभियन्ता थिए, कार्की। उनी वडाध्यक्षमा निर्वाचित हुनुमा पनि ‘हात्तीका कारण सिर्जित समस्या समाधान गर्छु’ भन्ने प्रतिबद्धताको भूमिका छ। “हात्तीसँग जोगिन र बाली जोगाउन बाहुनडाँगीमा धेरै उदाहरणीय काम गरिएका छन्,” उनी भन्छन्।

जस्तो- बाहुनडाँगीका बासिन्दा हात्तीले गर्ने नोक्सान बापत पुरापुर क्षतिपूर्ति पाउनुपर्ने माग गरिरहेका छन्। जुन माग वडाध्यक्षले मात्र पूरा गर्न सक्दैनन्। यसका लागि प्रदेश र संघीय सरकारले पहलकदमी लिनुपर्ने उनको भनाइ छ।

राति बस्तीमा आएका हात्ती।
यही माग स्थानीय बासिन्दाले कोशी प्रदेश सरकारसँग राखेका थिए। त्यसपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको सात दिन पैदलयात्रा गरेर स्थानीय र विज्ञको कुरा सुनेका छन्। पैदलयात्राको समापन समारोहमा मुख्यमन्त्री कार्कीले हात्तीले गरेको क्षति बापत स्थानीय बासिन्दालाई राहत होइन, क्षतिपूर्तिकै व्यवस्था गरिने प्रतिबद्धता जनाए। आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्ने उनको भनाइ थियो।

हात्तीविज्ञहरू पनि नोक्सान भएको बाली बराबरकै क्षतिपूर्ति दिनुपर्ने बताउँछन्। “जति बाली क्षति भएको छ, त्यही बराबरकै क्षतिपूर्ति दिंदा मात्र हात्ती धपाउन नजालान्,” हात्तीविज्ञ नरेन्द्रबाबु प्रधान भन्छन्, “हात्ती धपाउन नजाँदा हताहतीको घटना पनि हुँदैन।”

उसो त बाहुनडाँगीका बासिन्दाले हात्ती धपाउन छोडिसकेका छन्। बरु हात्तीको बथान आउँदा जोगिएर बस्छन्। त्यसैले कुनै अप्रिय घटना नभएको वडाध्यक्ष कार्की सुनाउँछन्।

बाहुनडाँगीले अपनाएको यो उपाय अन्य क्षेत्रमा पनि प्रचारप्रसार गरिंदा हताहतीका घटना कम हुने विज्ञहरू सुझाउँछन्। उनीहरूका अनुसार मानिसको व्यवहार परिवर्तन गर्दा र क्षतिपूर्ति दिंदा हात्ती सिर्जित समस्या कम हुन्‍छ। “मानवीय व्यवहार परिवर्तन गर्न सजिलो छैन। निरन्तर सचेतना अभियान चलाइरहनुपर्छ,” हात्तीविज्ञ प्रधान भन्छन्।

यसको अर्को उदाहरण हो, बर्दिया। तीन वर्षको निरन्तरको प्रयासले बर्दियाका बासिन्दाको व्यवहार परिवर्तन गराउन सकिएको उनी बताउँछन्। बर्दियामा उज्यालो नेपालसँगको साझेदारीमा निरन्तर हात्ती आउँदा धपाउन जाने होइन, चूप लागेर घरै बस्ने ‘हात्ती मेरो साथी’ अभियान चलाइएको थियो। यस अभियानका कारण तीन वर्षमा एक जना पनि हात्तीको आक्रमणमा परेनन्। “बल्ल मान्छेलाई ‘हात्तीसँग झगडा गरेर सकिंदैन, आफैं तर्किने हो’ भन्ने बुझाउन सकियो,” उनी सुनाउँछन्।

यससँगै बाहुनडाँगीमा हात्तीले मन नपराउने खेतीकोपनि अभ्यास गरिएको छ। हात्तीले नखाने र नबिगार्ने सुपारी, मरिच, तेजपात, तरुल, तोरी, खेती गर्न थालिएको छ। मेची नगरपालिका-४ मा अहिले ‘तोरी मौरी, घर मौरी’ अभियान नै चलाइएको छ।

हात्तीलाई तोरी मन नपर्ने र तोरीमा मौरी चर्ने हुँदा दोहोरो फाइदा देखिएको विज्ञहरू बताउँछन्। एकातिर हात्ती पनि नआउने, अर्कातिर थप आयआर्जन पनि हुने भएकाले किसान पनि आकर्षित छन्। एक बिघामा १० मनसम्म तोरी उत्पादन हुँदा किसानले झन्डै प्रतिमन पाँच हजारका दरले ५० हजारसम्म कमाइ गरिरहेको वडाध्यक्ष कार्की बताउँछन्।

किन आउँछ हात्ती?

झापामा परापूर्वकालदेखि नै भारतको पश्चिम बंगालको जंगलबाट हात्ती आउने गरेका हुन्। झन्डै १०० वर्षअघि पनि पूर्वी सीमाबाट छिर्ने हात्ती पश्चिमबाट निस्कने गरेको संरक्षणविद् बताउँछन्। अहिले हात्ती विचरण गर्ने पुरानो मार्ग त खण्डित भइसकेको छ। यद्यपि हात्ती नेपालतिर डुलेर भारत फर्कने पुरानो चलन जारी नै छ।

विशेष गरेर असार-साउन तथा कात्तिक-मंसीरमा जंगली हात्तीको समूह तराईका बस्तीमा देखा पर्छ। आहाराकै लागि हात्ती बस्तीमा आउने गरेको हात्तीविज्ञ दिनेश न्यौपाने बताउँछन्। “असारदेखि पुससम्म लगाइने अन्नबाली हात्तीले मन पराएको देखिन्छ,” न्यौपाने भन्छन्, “हात्तीले धान, मकै, गहुँ, केरा र उखु मन पराउने हुँदा गाउँबस्ती छिरेको हो।”

हात्ती हिंडिरहने प्राणी हो। हिंड्दा छोटो बाटो रोज्छ। पूर्वी क्षेत्रमा ठूलो जंगल नभएकाले लामो समय बस्ने गरेको छैन। पूर्वमा भएका १००/२०० हेक्टरका सामुदायिक वनमा हात्ती बढीमा दुई दिन नत्र एक दिन मात्र बस्ने गरेको विज्ञहरू सुनाउँछन्।

प्रायः भारतको पश्चिम बंगालबाट हात्ती नेपाल पसिरहन्छन्। तिनको हिंड्ने मार्गमा पूर्वाधार निर्माण, बस्ती विस्तारका कारण अवरोध हुँदाहुँदै पनि नेपाल आउन छोडेका छैनन्। यसरी हात्ती आउनुको जैविक महत्त्व पनि छ। “हात्तीको ‘जीन फ्लो’ भइरहेको देखिन्छ। जसले गर्दा नेपालमा सानो संख्यामा भएका रैथाने हात्ती पनि ‘सेटल’ भइरहेका छन्,” न्यौपाने भन्छन्, “कोशीको हात्ती चितवनसम्म आएको पाइन्छ। त्यसरी हेर्दा हात्तीको ‘जीन फ्लो’ पश्चिम बंगालदेखि चितवनसम्म हुनु जैविक महत्त्वको कुरा हो।”

हात्तीको स्मरणशक्ति तीक्ष्ण हुन्छ। बथानलाई माउले अघि लगाउँदै हिंडाउने गर्छ। ८० वर्षसम्म बाँच्ने हात्तीको नाति पुस्ता हजुरआमाले हिंडाएकै बाटो पछ्याउँछ। यसर्थ, कुनै ठाउँमा हात्ती आउनु भनेको विगतको मार्गलाई पछ्याएको विज्ञहरू बताउँछन्। “हामी बस्तीमा हात्ती आयो भन्छौं तर हामीले उसको मार्गमा बस्ती बसाएका हौं कि भन्ने विचार गर्दैनौं,” प्रधान भन्छन्।

बस्तीमा आए पनि अवरोध नगर्दा हात्तीले मान्छेलाई आक्रमण गर्दैन। बालीनाली खाएर आफ्नो बाटो लाग्छ। हात्ती हिंडिरहने हुँदा एकै ठाउँमा धेरै समय पनि बस्दैन। त्यस वेला हात्तीसँग जोगिएमा समस्या नहुने विज्ञहरूको भनाइ छ।

कसरी कम गर्ने हताहती?

पूर्वी नेपालका झापा, मोरङ र सुनसरी लगायत जिल्लामा हात्तीले सबैभन्दा बढी दुःख दिने गरेको छ। धेरैजसो हताहतीका घटना मानवीय व्यवहारकै कारण हुने गरेका छन्।

हात्ती भगाउन स्थानीय बासिन्दाले ढुंगा हान्ने, शरीरमा आगो फाल्ने, बन्दूक पड्काउने, भालाले हान्ने गर्दै आएका छन्। त्यस्तै, ड्रोन उडाएर, साइरन बजाएर, भाँडाकुँडा ठटाएर, पुल्ठो बालेर र डोजर तथा दमकलको प्रयोग गरेर पनि हात्ती भगाउने गरिन्छ। यस्ता क्रियाकलापले हात्तीलाई झनै बिच्काउने विज्ञहरू बताउँछन्।

अहिले त हात्तीले टेर्नै छाडेको छ। “सबैभन्दा राम्रो उपाय हात्ती आएको वेला चूपचाप बस्नु नै हो,” न्यौपाने भन्छन्।

बर्दियामा सिउँडीको बार लगाउने, तोस खन्ने (खाल्डो खन्ने), पटाका पड्काउने, राँको बालेर तर्साउने गर्दा हात्तीले झन उपद्रो गरेको संरक्षणकर्मी बताउँछन्। अझ हात्ती र मानव एकै ठाउँमा रहँदा द्वन्द्व हुने गर्छ। विवेकका साथ व्यवहार गर्दा समस्या कम गर्न सकिने हात्तीविज्ञ प्रधानको बुझाइ छ। त्यसको उदाहरण बर्दिया र बाहुनडाँगी भएको उनी बताउँछन्।

हात्तीबारे अध्ययन तथा अनुसन्धान गरेका संरक्षणकर्मीका अनुसार हात्तीले मान्छेलाई मार्न खोज्दैन। किनकि मान्छे हात्तीको आहारा होइन। आफूलाई खतरा महसूस गर्दा मात्रै आक्रमण गर्ने उनीहरूको भनाइ छ। “मान्छेले पैंठाजोरी खेलेर हात्तीसँग सक्दैन, मार्न सकिएला तर जित्न त सकिंदैन,” प्रधान भन्छन्।

सन् २०१५ मा भएको एक अध्ययनमा हात्तीको आक्रमणबाट भएको ७० प्रतिशत मृत्युको कारक मान्छेको लापरवाही भएको देखिएको छ। बाङ्लादेशमा भएको अध्ययनमा पनि ७० प्रतिशत मृत्युको घटना मान्छेका हेल्‍चेक्र्याइँले भएको पाइएको थियो।

बर्दियामा एउटा परियोजना मार्फत परीक्षणका क्रममा उन्नत प्रविधियुक्त बार राखिएको थियो। बार राखेको पहिलो वर्ष हात्ती आएन पनि। तर तारबारको उचित व्यवस्थापन गर्न नसक्दा अर्को वर्ष फेरि आयो। हात्ती हिंड्ने बाटोमा तारबार लगाउँदा समस्याको समाधान नभई स्थानान्तरण मात्र भयो। बारको मर्मतसम्भारको समस्या पनि देखियो।

१०-१५ मिनेटमा हात्तीले दुई-तीन किलोमिटर हिंड्ने भएकाले धेरै ठाउँमा बार लगाउन पनि सम्भव हुँदैन। “बार लगाउने हो भने श्रीलंकामा जस्तै बाली र गाउँ जोगाउन बार लगाउनुपर्छ,” न्यौपाने भन्छन्, “त्यस्तो बार हात्ती आउने वेलामा मात्र राखिन्छ। सधैं राखिंदैन। तर त्यो महँगो पर्न जान्छ।”

गत पुसमा भारतबाट ३०-३५ वटा हात्तीको हुल नेपाल छिर्‍यो। बाहुनडाँगीका बासिन्दाले हात्तीलाई केही गरेनन्। केही दुर्घटना पनि भएन।

त्यही हात्तीको समूह घुम्दै फिर्दै इटहरी, बेलबारी, सुनसरीतिर पुग्यो। पहिला बाहुनडाँगीतिर गरिने गल्ती सुनसरी क्षेत्रका बासिन्दाले गरे। धपाउने, आगो बाल्ने लगायत क्रियाकलाप गर्दा हात्तीको आक्रमणबाट लगालग चार जनाको ज्यान गयो। “बाहुनडाँगी र बर्दियामा भएका सहअस्तित्वका कुरा त्यहाँ पुग्न नसक्दा घटना भएको देखियो,” प्रधान भन्छन्, “त्यसैले हामी सबैको पहिलो प्राथमिकता हात्तीका कारण मान्छेको मृत्यु हुन नदिनेतर्फ केन्द्रित हुनुपर्छ।”

मान्छे चनाखो भयो भने हात्तीका कारण हुने क्षति कम गर्न सकिने विज्ञहरूको मत छ। मान्छेलाई चनाखो बनाउन खास ठूलो खर्च पनि नलाग्ने उनीहरू बताउँछन्। “मान्छेलाई सचेत बनाउन सक्दा दुर्घटना कम हुन्छन्। क्षतिपूर्तिको रकम जोगिन्छ। त्यो जागिएको रकमले बालीनालीको क्षतिपूर्ति दिन पुग्छ,” प्रधान भन्छन्।

हात्तीले नाश गर्ने बाली नै हो। बारीमा लगाएको सबै बाली मास्ने पनि होइन। हिंड्ने क्रममा बाटोमा परेको मात्रै मास्ने गरेको संरक्षणकर्मी सुनाउँछन्। सन् २००७ मा गरिएको अध्ययनमा बालीको नोक्सानी प्रतिघरधुरी सात हजार रुपैयाँ बराबर देखिएको थियो। अहिले १७ वर्षमा चौब्बर नै भएको हो भने पनि २८ हजार मात्र पुग्ने हात्तीविज्ञ प्रधान आकलन गर्छन्। “यो ठूलो क्षति होइन। स्थानीय सरकारले नै सम्बोधन गर्न सक्छन्,” उनी भन्छन्, “त्यसैले पनि हात्ती-मानव द्वन्द्व न्यूनीकरण गर्न क्षतिपूर्तिको व्यवस्था आवश्यक छ।”

अर्को, हात्तीबाट हुने क्षति कम गर्न सामुदायिक सञ्जाल बनाएर एउटा क्षेत्रमा हात्ती आएको सूचना अर्को क्षेत्रमा प्रवाह सकिन्छ। वेलैमा सूचना पाउँदा पनि ज्यान जोगिन सक्छ। विशेष गरेर स्थानीय बासिन्दा घाँसदाउराका लागि जंगल जाँदा हात्तीको आक्रमणमा परेका देखिन्छन्। हात्ती आएको थाहा पाएपछि केही समय जंगल नगई जोगिन सकिने न्यौपाने सुझाउँछन्। “एक दिन छलिदिने बित्तिकै दुर्घटनाबाट बच्न सकिन्छ,” उनी भन्छन्।

अर्को, हात्ती हिंड्ने जंगल क्षेत्रमा वासस्थान व्यवस्थापनको काम पनि गर्नुपर्ने विज्ञहरू बताउँछन्। हात्तीलाई चाहिने पानी, घाँसे मैदानको व्यवस्था गर्न सकिन्छ। हात्तीलाई बाँस र केरा मन पर्छ। घर नजिक यी दुई बाली नलगाउने र सामुदायिक वनमा लगाउँदा भने हात्ती जंगलमै अलमलिन्छ। “हात्ती अलमलिंदा स्थानीयले सतर्क हुने समय पाउँछन्,” न्यौपाने भन्छन्।

एक अध्ययनमा रक्सी पार्ने घरमा हात्तीले बढी आक्रमण गर्ने गरेको देखिएको छ। त्यस्तै, भारतमा धेरै मान्छे रक्सी खाएर हात्ती धपाउन जाँदा ज्यान गुमाउने गरेको पाइएको छ। यसतर्फ पनि सचेत हुनुपर्ने न्यौपानेको सुझाव छ।

कुनै वेला स्थानीय बासिन्दाको डरले भद्रपुरबाट बाहुनडाँगी पुग्नै चार दिन लागेको उनी सुनाउँछन्। कारण थियो, हात्ती आक्रमण। हात्तीबाट आजित स्थानीय संरक्षणकर्मीसँग निहुँ खोज्थे। अहिले बाहुनडाँगी पुग्दा स्थानीय बासिन्दाले स्वागत-सत्कार गर्ने गरेको सुनाउँदै न्यौपाने भन्छन्, “हात्तीबाट जनधनको क्षति कम गर्न बाहुनडाँगीको अभ्यास देशैभरि फैलाउनुपर्छ।”
himalkhabar bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार