पोखरा महानगरबाट पुरानो लेखनाथ नगरपालिका अलग हुने कुराले मन दुखेकोछ… मेयर धनराज आचार्य

0
SHARES
28
VIEWS

महानगरका पहिलो जनप्रतिनिधिको कार्यकाल सकिँदासम्म लेखनाथबासीले पोखराबाट छुट्टिने कुरा उठाएनन्। उनीहरूले योजनाबद्ध विकास, तालहरूको संरक्षण र पर्यटन प्रवर्द्धनका उपयुक्त योजना पर्खिएर बसे।

महानगरको जनप्रतिनिधिको दोस्रो निर्वाचनमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले पनि आफू लेखनाथबासी भएको बताउँदै भोट मागे।

पुख्यौली घर भरतपोखरी रहेकाले आचार्यले आफू लेखनाथबासी भएको बताए। उनले पनि चुनाव जिते। लेखनाथबासी नभएका अन्य उम्मेदवार हारे।

तत्कालीन ५ दलीय सत्ता गठबन्धनबाट चुनाव जितेका आचार्यको कार्यकालको पहिलो वर्ष बित्दासमेत कुनै ठोस योजना नआएपछि लेखनाथबासीले मन दुखाउन थालेका छन्।

लेखनाथको विकास निर्माण, तालहरूका संरक्षण र पर्यटन प्रवर्द्धनमा पोखराले उपेक्षा गरेको उनीहरूको दुखेसो छ। यही कारण उनीहरूले लेखनाथ नगरपालिका ब्युँताउन माग गरिरहेका छन्।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस मनाउन बुधबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखराका मेयर धनराज आचार्य लेखनाथ गए। मुख्यमन्त्री पाण्डे छोटो समय बसेर फर्किए। मेयर आचार्य कार्यक्रमभरी बसे।

Ncell
संघको कार्यालयभित्र कार्यक्रम चलिरहेको थियो। बाहिर पोखराबाट लेखनाथ नगरपालिका छुट्याउन माग गर्दै हस्ताक्षर अभियान चलिरहेको थियो। मुख्यमन्त्री बाहिरिएपछि सुरू भएको हस्ताक्षर अभियान दिनभरी चलेको अभियन्ता सन्दीप पौडेलले बताए।

पोखरा महानगरपालिका बनेपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको उनको अनुभव छ।

लेखनाथलाई छुट्टै पालिका बनाउन सके लेखनाथको तालहरूको संरक्षण, पर्यटन प्रवर्द्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने उनको विश्वास छ।

‘पोखराले फेवाताल र लेकसाइडबाहेक अरू केही देखेन, लेखनाथलाई डम्पिङ साइट बनाउन खोज्यो,’ उनले भने, ‘यहाँका तालहरूको संरक्षण र योजनाबद्ध विकास हुनै सकेन।’

बुधबारदेखि उनीहरूले सुरू गरेको हस्ताक्षर अभियानबाट लेखनाथबासीको १ लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउने उनीहरूको योजना छ। यसअघि पनि पटक पटक लेखनाथलाई छुट्टै पालिका बनाउन माग गर्दै उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

पोखराबाट लेखनाथलाई छुट्याएर लेखनाथ नगरपालिका बनाउने अभियानमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेलिरहेको छ।

संघकै अगुवाइमा यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री प्रचण्डलाई पनि ज्ञापन पत्र बुझाइसकेका छन्।

लेखनाथ नगरपालिका स्थापित हुँदा राजनीति र आर्थिक गतिविधि बढ्ने र योजनाबद्ध विकास अभियान संचालन गर्न सकिने पौडेलको दाबी छ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले पोखरा महानगरको कर नीति ग्रामीण भेगका लागि छुट्टै बनाउनुपर्ने माग राखे।

बेगनास तालमा पर्यटनसम्बन्धी कुनै पनि गतिविधि हुन नसकेको भन्दै उनले महानगरले फेवाताललाई मात्र प्राथमिकता दिएको गुनासो गरे।

‘कर तिर्दा पोखरा र ग्रामीण क्षेत्रका व्यवसायी र सबै बासिन्दाले समान अंकमा तिर्नुपर्छ, जबकि, सुविधा बजारका बासिन्दाले धेरै पाएका छन्,’ उनले भने, ‘देशकै ठूलो महानगरले पछाडि परेका ग्रामीण क्षेत्रलाई सहुलियत दिन सक्नुपर्छ।’

पोखराबाट लेखनाथ छुट्याउने आफूहरूको अभियान आन्दोलनबाट भन्दा पनि सबैको सहमतिबाट हुनुपर्ने बताए।

पोखरामा गाभिँदा लेखनाथलाई कुनै फाइदा नभएको र उल्टै बेफाइदा भएको उनको धारणा छ। स्थानीय तह पुनसंरचनापश्चात कास्कीमा केन्द्रीकरण भएको उनले बताए।

‘कास्कीमा ४ वटा गाउँपालिका र एउटा महानगरपालिका छ, कतिपय जिल्ला भन्दा ठूला गाउँपालिका कास्कीमै छन्,’ उनले सेतोपाटीलाई भने, ‘पोखरामै पनि दिनभरी लगाएर नगरपालिका जानुपर्ने अवस्था छ, यहाँ विकेन्द्रीकरण भएन, केन्द्रीकरण भयो।’

स्थानीय तह पुनसंरचना गर्दा ‘ग्रेटर पोखरा’ को अवधारणा बनाएर पोखरा महानगरपालिका बनाइएको थियो।

लेखनाथ नगरपालिका हुँदा पनि उक्त अवधारणामा जोडिन सकिने आत्रेयले बताए।

पोखरा महानगरले लेखनाथलाई जोड्न योजनाबद्ध विकास, तालहरूको संरक्षण र पर्यटन प्रवर्द्धन महसुस हुने गरी अगाडि बढाउनुपर्ने उनको माग छ।

यसका लागि महानगरले साविकको लेखनाथ नगरपालिकाको कार्यालयमा इकाइ स्थापना गर्नुपर्ने आत्रेयले बताए। अहिले उक्त कार्यालय प्रयोगविहीन अवस्थामा छ।

जिल्ला प्रशासन कार्यालयले लेखनाथमा इलाका प्रशासन कार्यालय स्थापना गरेर नागरिकता र पासपोर्टसम्बन्धी सेवा दिइरहेको छ।

नापी र मालपोत कार्यालयले पनि लेखनाथमा इलाका कार्यालय स्थापना गरेका छन्। नापी र मालपोतका काम त्यही इलाका कार्यालयमार्फत पाउँछन्।

‘अरू सबै कार्यालयले लेखनाथमा इलाका कार्यालय खोलेर सेवा दिएका छन्, महानगरपालिकाले पनि पुरानो नगरपालिका भवनमा यस्तै इकाई खोल्न सक्छ र हप्तामा २ दिन मेयर आएर बस्नुपर्छ,’ उनले भने।

महानगरका मेयरलाई लेखनाथमै भेटेर आफ्ना योजना र समस्याका बारेमा छलफल गर्न पाउनुपर्ने उनले बताए।

साविकका गाविसहरू समेटेर २०५३ सालमा लेखनाथ नगरपालिका स्थापना भएको थियो।

लेखनाथका पहिलो मेयर शालिग्राम पौडेलले लेखनाथ नगरपालिकाको योजनाबद्ध विकासका कार्यक्रम पोखरा महानगरले आत्मसाथ गर्न नसक्दा समस्या उत्पन्न भएको बताए।

लेखनाथ नगरपालिकालाई पोखरा महानगरमा गाभ्नु नै गल्ती भएको उनले बताए।

तत्कालीन लेखनाथ नगरपालिकालाई सरकारले १ अर्ब ७५ करो.ड बजेट दिएको र आन्तरिक स्रोतबाट ७५ करोड रुपैयाँ संकलन गरेर साढे २ अर्बको बजेट बनाउने गरेको उनले बताए।

अहिले महानगरसँग गाभिँदा ३० करोड आसपासमा मात्र लेखनाथमा बजेट आउने गरेको पूर्व मेयर पौडेलको हिसाब छ।

पोखराबाट लेखनाथ छुट्टिनुपर्ने आवाज बुलन्द भइरहेको पाएपछि बुधबार लेखनाथ उद्योग वाणिज्य संघमा पुगेका मेयर आचार्यले भाँड्ने कुरा नगर्न भनेका छन्।

आफू पनि लेखनाथबासी भएरै निर्वाचन जितेको भन्दै उनले महागनरका अन्य वडामा भन्दा लेखनाथका वडामा धेरै बजेट पठाएको दाबी गरे।

‘पोखराको वडा नम्बर २ मा २ करोड भन्दा पनि कम बजेट छ, लेखनाथको कुन वडामा ५ करोड भन्दा कम बजेट छ,’ उनले प्रश्न गरे, ‘कसले लेखनाथ प्राथमिकतामा परेन भनेर छुट्याउने कुरा गरेका छौं?’

स्थानीय तह बनेपछि २० वर्ष हेर्नुपर्ने भन्दै उनले लेखनाथको विकास गर्न सकिएन भने आफू पनि अभियानमा जोडिने बताए।

पोखरा महानगरका ३३ वटा वडामध्ये लेखनाथमा ८ वटा वडा पर्छन्।

लेखनाथका तालहरू संरक्षणका योजना अघि बढेको दाबी गर्दै मेयर आचार्यले भने, ‘मन भाँचिने कुरा नगरौं, म पनि लेखनाथबाट निर्वाचित भएको हुँ, बेमौसमको बाजा बजाउँदा कसैलाई पनि फाइदा हुँदैन।’setopati bata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार