एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधि नजिक

0
SHARES
12
VIEWS

दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।

झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा ११ एफसीको सामना गर्नेछ । झापा ११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत र निशान तामाङले गोल गरे ।

एकताका मिलन राईको प्रहार झापाका गोल किप्पर योगेश धिमालले विफल बनाइदिएका थिए । आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किप्पर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ दि म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार